विराटनगर ।कोशी प्रदेशमा आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा एक सांसद काठमाडौंमा रहँदा रहँदै विराटनगरमा उनको नामबाट फर्जी मत खसेको रहस्य खुलेपछि ‘कसले मत खसायो’ भन्ने प्रश्नले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेश सभा सदस्य प्रेमराज थामसुहाङका नाममा फर्जी मत खसेको पाइएको हो। थामसुहाङ स्वयंले आफू विगत तीन दिनदेखि काठमाडौंमा रहेको र मतदानमा सहभागी नभएको दाबी गरिरहँदा निर्वाचन कार्यालयको अभिलेखमा भने उनको मतदान भइसकेको देखिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतदान नगर्नेहरूको सूचीमा सांसद थामसुहाङको नाम उल्लेख छ । सूचना अधिकारी हेम बुढाथोकीका अनुसार ९२ सदस्यीय प्रदेश सभामा ५ जनाले मतदान गरेका थिएनन्। मतदान नगर्नेहरूमा कांग्रेसकी लीलाकुमारी राई, एमालेकी यशोदा कायस्थ, राप्रपाका सविना बजगाई, निमसरी राजवंशी र गोपालबहादुर विश्वकर्मा रहेका छन्। यी ५ जना बाहेक अन्य सबैको मत खसेको बुढाथोकीले बताए ।
आफू काठमाडौंमै रहेको बताउँदै थामसुहाङले भने, ‘म तीन दिनदेखि काठमाडौंमा छु, आज पनि यतै छु। मैले मतदान गरेको छैन, तर मेरो नाममा मत कसरी खस्यो ? म आश्चर्यमा परेको छु। ’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समेत आफ्ना सांसद काठमाडौंमै रहेको र मतदान नगरेको पुष्टि गरिसकेका छन्। राप्रपाले यसअघि नै आफ्नो उम्मेदवार नभएको भन्दै निर्वाचनमा सहभागी नहुने निर्णय गरेको थियो।
मुख्य निर्वाचन अधिकृत भीष्मराज प्रसाईले थामसुहाङको नाममा मतदान भएको स्वीकार गरेका छन्। तर, फर्जी मत कसले खसायो भन्ने विषयमा तत्काल अनुसन्धान गर्न नसकिने उनले बताए। ‘उहाँको नाममा मतदान भएको देखिएको छ। तर अहिले मतगणना सकिएर सबै कागजात शिलबन्दी भइसकेकाले हस्ताक्षर रुजु गर्न सकिने अवस्था छैन,’प्रसाईले भने, ‘अब यो विषय अदालतमा मुद्दा परेको खण्डमा मात्रै कानुनी रूपमा छिनोफानो हुनेछ।’
एकजना जनप्रतिनिधिको उपस्थितिविना नै उनको नाममा हस्ताक्षर गरेर मत खसाइनुले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षा व्यवस्थामाथि समेत गम्भीर आशंका उब्जाएको छ। कोशी प्रदेशमा रिक्त ३ पदका लागि भएको निर्वाचनमा अन्य तर्फबाट कांग्रेसका सुनिल थापा निर्विरोध भइसकेका छन् भने महिला क्लस्टरबाट रोशनी मेचे र दलित क्लस्टरबाट सोम पोर्तेल विजयी भएका छन्। आज विजयी दुवै जना एमालेका हुन्।




















