बिर्तामोड । झापाको बिर्तामोडस्थित वीरता लेडी जेसीजले संस्थाको विधान र प्रक्रिया विपरीत अधिवेशन तथा पद हस्तान्तरण गरेको भन्दै नेपाल जेसीजले छानबिन र कारबाहीको प्रक्रिया अघि बढाएको छ। नेपाल जेसीजले अर्को जानकारी नहुँदासम्म शाखाका कुनै पनि गतिविधि नगर्न र नगराउन वीरता लेडी जेसीजलाई कडा निर्देशन दिएको छ। संस्थाकी निवर्तमान अध्यक्ष एवं निर्वाचन अधिकृत मेनुका ओलीले नेपाल जेसीजको निर्देशनलाई अटेर गरी आफू निकटका उम्मेदवारलाई प्रक्रिया नपुर्‍याई निर्वाचित घोषणा गरेको र सुटुक्क पद हस्तान्तरण गराएपछि यो विवाद चर्किएको हो।
नेपाल जेसीजका महासचिव अमर घिमिरेले पत्र पठाउँदै अधिवेशन र निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कागजात ६ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएका छन्। सन् २०२६ का लागि अध्यक्षमा निर्वाचित घोषित मुना ढुङ्गेलको योग्यतामाथि समेत गम्भीर प्रश्न उठाइएको छ। नेपाल जेसीजको विधान अनुसार अध्यक्ष हुनका लागि अनिवार्य हुनुपर्ने राष्ट्रिय महाधिवेशन र क्षेत्रीय सम्मेलनको सहभागिता ढुङ्गेलको नपुगेको दाबी गर्दै संस्थाकी सदस्य झुमा भट्टराई चुडालले केन्द्रमा लिखित उजुरी दिएकी छन्। १५ दिनअघि सूचना दिनुपर्ने प्रावधान भए पनि फेसबुकमा ३ दिनअघि मात्र सूचना राखेर अधिवेशन आह्वान गरिएको र विधिको धज्जी उडाइएको आरोप लगाइएको छ।
जेसीजको परम्परा विपरीत माघ १ गते बिहान करिब १५–२० जनाको उपस्थितिमा सचिवालयको एउटा कोठाभित्र सुटुक्क पद हस्तान्तरण गरिएको भन्दै पूर्व अध्यक्षहरूले कडा आपत्ति जनाएका छन्। पूर्व अध्यक्षहरू राधा सुब्बा, रजनी बजगाईं, सोमा शिवाकोटी र मिरा भट्टराई बजगाईंले सामाजिक सञ्जालमार्फत यो घटनालाई वीरता लेडी जेसीजको इतिहासकै लज्जास्पद र दुःखद क्षण भनेका छन्। सदस्यहरूलाई समेत जानकारी नदिई रातारात गरिएको यो पद हस्तान्तरणले जेसीजको मूल्य र मान्यतामाथि प्रहार गरेको उनीहरूको ठहर छ।
नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अनिश भट्टराईले आफूले पटक–पटक फोन गरेर विधान विपरीतका कार्य नगर्न आग्रह गर्दा पनि निर्वाचन अधिकृत मेनुका ओलीले अवज्ञा गरेको बताएका छन्। उनले विधान मिचेर जेसीजको गरिमा बिगार्ने छुट कसैलाई नभएको र छानबिनपछि दोषीमाथि कडा कारबाही हुने स्पष्ट पारेका छन्। यता, निर्वाचन अधिकृत ओलीले भने आफूले विधान बमोजिम नै कार्य गरेको दाबी गरेकी छन्। नेपाल जेसीजले यस घटनालाई गम्भीरतापूर्वक लिँदै क्षेत्र ‘क’ का निरूपित पदाधिकारीहरूलाई छानबिन र कारबाही सम्बन्धी पत्रको बोधार्थ पठाएको छ।