राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई कामकाजी र उपलब्धिमूलक बनाउन सबै राजनीतिक दलहरूको सहयोग आवश्यक रहेको बताएका छन्। शुक्रवार राष्ट्रिय सभाको १९ औँ अधिवेशनको अवसरमा शुभकामना मन्तव्य दिँदै उनले सभालाई जनताको भावना र अपेक्षा अनुसार सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन्।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा बढाउन सांसदहरूले आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। जनताका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी कानुन निर्माणको कामलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ। ‘सबै राजनीतिक दलहरूले यो अधिवेशनलाई सफल बनाउन आवश्यक सल्लाह र सहयोग गर्नेछन् भन्ने विश्वास लिएको छु,’ दाहालले भने।

सम्बोधनका क्रममा अध्यक्ष दाहालले सभाको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने नेपाल सरकार लगायतका निकायलाई धन्यवाद समेत दिए। उनले राष्ट्रिय सभाले केवल कानुन निर्माण मात्र नभई सरकारका कामकारबाहीलाई जनमुखी र प्रभावकारी बनाउन समेत महत्वपूर्ण खबरदारी र भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे। सभाको गरिमा अभिवृद्धि नै आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै उनले १९ औँ अधिवेशनको पूर्ण सफलताको कामना गरे।