भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा झडप हुँदा नौ जना घाइते भएका छन्। बिहीबार राति बाल सुधारगृहभित्रका दुई समूहबीच आन्तरिक विवादका कारण झडप भएको उपत्यका प्रहरी कार्यालका एसएसपी प्रविण धितालले जानकारी दिए।
झडपमा सात बालक घाइते भएका छन्। बाल सुधारगृह परिसरमा रातिदेखि नै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको छ।
शुक्रबार भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बाल सुधारगृहका दुवै पक्षसित प्रहरीले अवस्था सामान्य बनाउन छलफल जारी राखेको छ।
बाल सुधारगृहको सुरक्षामा खटिएका प्रहरी कर्मचारीले हतियार बोक्न नपाउने कानुनी व्यवस्था छ। कारागारको तुलनामा बाल सुधारगृहमा डिउटीमा खटिएर सुरक्षा प्रदान गर्न कठिनाइ हुँदै आएको प्रहरीले जनाएको छ।
भक्तपुरको बाल सुधारगृहमा विवाद समाधान गर्न पुगेका दुई प्रहरीमाथि समेत हातपात भएको जनाइएको छ। सुधारगृहका बालबालिकाले अवस्था नियन्त्रण गर्न खटिएका प्रहरीमाथि नै ढुंगा प्रहार गरेका थिए।
उक्त सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन्। हाल अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।



















