विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चयन भएपछि सभापति गगन थापा पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुगेका छन्।

उनी केहीबेरअघि पार्टी कार्यालय पुगेका हुन्। उनलाई आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ।

पार्टी कार्यालयमा बाक्लो संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ।

गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति चुनिएका थिए।

उपसभापति भुसालका अनुसार सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक बस्नेछ।

बैठकपछि सभापति थापा चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम छ। अघिल्लो निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ मा उम्मेदवार छन्। उनले माघ ६ गते वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका थिए।