कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्से परिसूचक २७ सय बिन्दुमै स्थिर रहेको छ।
यस अघि बिहीबार ९.१४ अङ्कले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको नेप्से परिसूचक यस दिन भने २.४० अङ्कले बढेर २७०६.३६ बिन्दुमा रोकिएको छ। अघिल्लो कारोबार दिन ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँ बराबरको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर खरिद विक्री भएकोमा आज कुल ३१८ स्टकको ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँ बराबरको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर खरिद विक्री भएको छ।
यस दिन सेन्सेटिभ इन्डेक्स आज ०.६७ अङ्कले बढेको छ। फ्लोट इण्डेक्स ०.२३ अङ्कले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.३३ अङ्कले बढेको छ। नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६९.४० रुपैयाँले बढेर ७६३.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस दिन गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स, राप्ती हाइड्रो र अपर हेवा खोलाको आईपीओले सबैभन्दा धेरै कमाएको छन्। यस दिन नेपाल रिइन्स्योरेन्स, लक्ष्मी सनराइज बैंक, हिमालयन रिइन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा बढी कारोबार भएको छ।
यस दिन गुडविल फाइनान्स, ग्रिन डभ्लप्मेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। गुडविल फाइनान्सको शेयर मूल्य १२७.३० रुपियाँले घटेर १३०८.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी ग्रिन डभ्लप्मेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्य पनि क्रमशः १३७.९८ रुपैयाँ र ५३.७५ रुपैयाँले घटेर १४७१.०३ रुपैयाँ र ८७१.९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।