गत २०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको माहौल थियो। रौतहटको राजपुर फरहदवामा रहेको राजा ईटाभट्टामा काम गर्थे भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार।
नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको उक्त इटाभट्टामा काम गर्ने उनी त्यो दिन पैसा लिन आलमको घरमा भएका थिए। उनले बताएअनुसार त्यहाँ बम बनाउने काम भइरहेको थियो। त्यो क्रममा बम पड्किएपछि उनी घाइते भए। बमले दुवै कान उडाइदियो, अनुहार, घाँटी र छातीमा ठुलो चोट लाग्यो।
उक्त इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोप आलममाथि छ। उक्त घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै उच्च अदालत वीरगन्ज इजलासले जब सफाइ दिएको छ। उच्च अदालतको फैसलामा बम पड्किएकै पुष्टि हुन नसकेका उल्लेख छ।
तर, सो घटनामा परी बालबाल बाँचेका गौरीशंकर भने बम पड्किएको बताउँछन्। प्रस्तुत छ उनले सो घटनामा आधारित भएर दिएको अभिव्यक्तिको सम्पादित अंश:
म रौतहटको राजा ईटाभट्टामा काम गर्दै थिए। हप्ताको दिन थियो। पैसा लिन मलाई बोलाएर लिएर गयो। हामी तीन जना थियौँ। मलाई भन्यो– भाइ यता आएर तिमी आफ्नो पैसा लिएर जाऊ। घरको ढोकाको छेउमा पुगेको बम पड्कियो। आगो लागेपछि म भागेँ। घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ। फेरि म भागेँ। त्यसपछि मलाई थाहा भएन कि म कहाँ हो ? एकैचोटी मेरो आँखा खुल्यो सीता मढीमा। आँखा खुलेपछि मैले आमालाई सोधे– कहाँ हो यो ? आमाले भन्नुभयो– यो सितामढी हो, म तिमीलाई अस्पताल लिएर गइराखेको छु। केही चिन्ता नगर, ठिक हुन्छ तिमीलाई।
त्यसपछि मेरो आँखा फेरि बन्द भयो। मेरो इलाज (उपचार) तीन महिना जति भयो। मलाई साढे ३ लाख आईसी (भारतीय रुपैयाँ) खर्च भयो। अफ्ताबले एकचोटी पनि सोधेन– मान्छे कस्तो छ, के छ ? एक रुपैयाँ पनि दिएन। सोधेको पनि छैन। आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन। त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्यो।
निर्वाचनको एक दिन पहिला बेलुकातिर बम विस्फोट भएको थियो। अफताब आलमको काकाको घरमा। मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुर्याए मलाई थाहा भएन। दुई जना मेरो गाउँको मान्छे पनि जलेको छ, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ। कति मान्छे घाइते भए, त्यो त मलाई थाहा भएन। होस् भए पनि थाहा हुन्छ कतिलाई लागेको थियो भन्ने।
त्यहाँ बम विस्फोट भएको छ, मलाई बम लागेको छ। अदालतको फैसलाले मलाई अन्याय भएको छ मैले भनिराखेको छु। मलाई त्यसैमा बम लागेको छ। अरू मान्छे चाहिँ कति मर्यो मलाई थाहा भएन। इलेक्सनको एक दिन पहिला भएको छ, अफ्ताब आलमले नै बम विस्फोट गराएको त मैले भन्न सक्दिनँ। तर, उसैको घरमा भएको छ।
सुरुसुरुमा एसपी कार्यालय (प्रहरी चौकी) मा मैले बयान दिँदा मेरो घरमा गएको थियो। म घरमा नहुँदा खेरी त्यसको आद्मी (मान्छे) गएर मेरो आमालाई भनेको छ– तिम्रो छोरा त गयो (मर्यो) अब। तिम्रो छोरा दुई/चार साल बितेपछि बाँच्दैन। अफ्ताब आलमको मान्छे गएर भनेको छ। मलाइ धम्की दिएको छ।
अफ्ताब आलाम आलम छुटेकोमा मलाई दुःख लाग्यो, बम बनाएर, बम फ्याकेर हामी पीडित मान्छे। त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ। मलाई मार्छ, त्यस्तो मलाई लागेको छ। अब मलाई डर भयो। मेरो शारीरिक अवस्था नाजुक छ। काम पनि भेटिँदैन, काम गर्न पनि सक्दिनँ। म मर्ने कि बाच्ने, मैले केही पनि देखिनँ। (रुँदै) कसरी बाँचौँ म यो दुनियाँमा।