नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले विपन्न, गरिबीको रेखामुनि रहेका जनशक्तिले ऋणको पहुँचमा आउन नसकेको बताएका छन्। 
आइतबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशका धेरै समुदायहरूको ऋणमा पहुँच नभएको र ऋणमा पनि सबै जनाको हक लाग्ने बताएका हुन्।  
उनले भने, ‘हामी भूइँचालोबाट आयौँ, कोभिडबाट आयौँ। हाम्रो देश धेरै विविधता भएको देश हो। यहाँ धेरै समुदायहरू छन् तर लोनमा सबैको पहुँच छैन। साना किसान जस्ता कार्यक्रम गरिरहेको छ। हाम्रा देशमा विपन्न, गरिबीमा रहेकाले ऋण सजिलोसँग पाएका छैनन्। व्याज धेरै महँगो तिरिहरेका छन्। ऋणमा सबै जनाको हक लाग्नुपर्छ।’
उनले  ऋण प्रवाह गरेअनुसार सबैलाई माथि लैजान नसकेको पनि बताए। 
‘हामीले जुन रूपमा ऋण प्रवाह गर्छौँ। त्यसलाई सबैलाई माथि लैजाओस्। समस्या यहाँ के छ भने त्यो दर्शनमा काम पनि गरेको हो। तर चाहे अनुरूप काम भएन,’ उनले भने।
यस्तै, उक्त कार्यक्रममा उद्योगपति शेखर गोल्छा आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सन्दर्भमा आफ्ना धारणा राखेका थिए।