नेपालमा वायु प्रदूषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमको कारक बनेको छ। विश्व बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले नेपालमा मृत्यु र अपाङ्गताको लागि वायु प्रदूषण सबैभन्दा ठुलो जोखिमको कारण भएको देखाएको हो।
‘काठमाडौँ उपत्यका र तराई नेपालको वायु प्रदूषणका लागि हटस्पट हुन, जसमा विगत एक दशकमा कुनै उल्लेखनीय सुधार भएको छैन। वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ वर्षले घटाउँछ र वार्षिक रूपमा लगभग २६,००० जनाको अकालमा मृत्यु निम्त्याउँछ,’ प्रतिवेदनमा भनिएको छ। ‘स्वास्थ्यको अतिरिक्त, वायु प्रदूषणले श्रम उत्पादकत्व, पर्यटन र उड्डयन क्षेत्रमा समेत असर गर्छ। खराब वायु गुणस्तरको आर्थिक लागत प्रत्येक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ६ प्रतिशतभन्दा बढी छ।’
वायु प्रदूषण नियन्त्रणका लागि क्षेत्रीय र बहु–क्षेत्रीय स्तरबाट प्रयासहरू हुन जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ। वायु प्रदूषणलाई सम्बोधन गर्न कार, मोटरसाइकल, बस र ट्रकलगायत सवारी साधनलाई विद्युतीकरण गर्न आवश्यक रहेको र सवारी साधन निरीक्षण र मर्मत प्रणालीलाई सुदृढ पार्दै सडकको धुलो घटाउनुपर्नेमा विश्व बैंकले जोड दिएको छ।
त्यसैगरी, साना तथा मझौला उद्यमहरूमा विद्युतीय र पेलेट बोयलर र भट्टीहरू सहित उद्योगहरूमा स्वच्छ प्रविधि र इन्धन अपनाउने समर्थनले सफा उद्योगहरूलाई प्रवर्द्धन गर्न मद्दत गर्ने बताइएको छ। इँटा र सिमेन्ट कारखाना जस्ता औद्योगिक क्षेत्रहरूलाई जैविक ऊर्जा प्रयोग गर्न सुझाइएको छ। खाना पकाउने कार्यमा पनि विद्युतीय चुल्होको प्रयोग र बायोमास इन्धनको प्रयोग गर्न साथै बनमा लाग्ने डढेलो नियन्त्रण र सिमापार वायु प्रदूषणको असर कम गर्न सकेमा वायु प्रदूषण घटाउन सकिने बताइएको छ।
‘विश्व बैंकले वित्तीय र प्राविधिक सहयोग र क्षमता निर्माण सहयोगको लाभ उठाएर नेपाललाई आफ्नो वायु गुणस्तर सुधार कार्यक्रमहरूलाई बलियो बनाउन मद्दत गर्न प्रतिबद्ध छ। माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय डिभिजन निर्देशक डेभिड सिस्लेनले भने। “राम्रो स्वास्थ्य र समृद्धिको लागि स्वच्छ हावाको अटल समर्थकको रूपमा, विश्व बैंकले नेपालमा स्वच्छ हावालाई सहयोग गर्ने हाम्रो प्रयासहरू प्रभावकारी र दिगो छन् भनी सुनिश्चित गर्न विश्वभरबाट आफ्नो व्यापक ज्ञान र अनुभवलाई निरन्तर उपयोग गरिरहेको छ।’