सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सीमा विवादका विषयमा प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिको प्रस्टीकरण दिएका छन्।

प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको रहेछ भनेर नभनेको दाबी गर्दै मन्त्री पोखरेलले दुई देशबीचको सीमा विवाद समाधानका लागि गठन भएका संयन्त्रबाट आएको कुराले अचम्मित भएँ भन्न खोजेको बताए।

दुई देशबीचका जति पनि सीमा विवाद छन् त्यसलाई वार्ताका माध्यमबाट समाधान गर्ने भनेर प्रधानमन्त्री शाहले भनिसकेको मन्त्री पोखरेलले बताए।

‘प्रधानमन्त्रीले के भन्नुभएको हो भने सीमा विवाद सम्बन्धी काम अघि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि म अचम्मित परेँ भन्नुभएको हो’, मन्त्री पोखरेलले भने, ‘त्यो हिसाबले उहाँले सदनमा भन्नुभएको हो। यसमा परराष्ट्र मन्त्रालयले पनि स्पष्ट पारिसकेको छ। कतिपय भारतले उपभोग गरेको सीमा नेपालमा पर्ने सक्ने र नेपालले उपभोग गरेको सीमा भारतमा पर्न सक्ने भन्ने कुरा संयन्त्रहरूबाट आएको हुनाले दुई देश बसेर विवाद मिलाउनुपर्छ भन्ने कुरा हो।’

मन्त्री पोखरेलले प्रधानमन्त्री सदनप्रति उत्तरदायी रहेको र आवश्यक पर्दा सदनमा आएर उत्तर दिने बताए।