डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभा सदस्य रहेकी गीता गुरुङ पदमुक्त भएकी छन्।

लगातार १० वटा बैठकमा अनुपस्थित भएपछि संविधान र नियमावलीअनुसार उनको पद रिक्त भएको घोषणा सभामुख तुलाराम घर्तीमगरले बुधबारको प्रदेशसभा बैठकमा गरेका छन्।

‘उहाँ लगातार १० वटा बैठकमा नआएको विवरण भेटियो। त्यसपछि उहाँलाई संविधान र प्रदेशसभा नियमावलीअनुसार पदमुक्त गरिएको सूचना सभामुखले पढेर सुनाउनु भयो’, प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले भने, ‘गीता गुरुङ पदमुक्त भएपछि अब समानुपातिक सूचीमा रहेका अर्का व्यक्तिलाई सम्बन्धित दलले सांसदमा सिफारिस गर्न सक्छ।’ 

जनमतबाट समानुपातिक सांसद गुरुङले ३० वैशाखमा बेलायतबाटै ईमेलमार्फत पठाएको राजीनामा पत्र भने अझै पनि अलपत्र छ। प्रक्रिया पूरा नगरेको र सनाखत पनि नभएको अवस्थामा उनको राजीनामा पत्र सभामुखले थन्क्याएर राखेका छन्।

जनमत पार्टी लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता चन्द्र केश गुप्‍ताले पनि सांसद गुरुङ बुधबारदेखि पदमुक्त भएको पुष्टि गरे।

‘उहाँलाई पदमुक्त गरिएको जानकारी सभामुखज्यूले बुधबार हामीलाई गराउनुभएको छ,’ नेता गुप्ताले भने, ‘लगातार १० वटा बैठकमा नआएपछि उहाँ स्वतस् पदमुक्त हुने व्यवस्था भएकाले त्यहीअनुसार उहाँको सांसद पद रिक्त भएको छ।’