पूर्वअर्थमन्त्री महेश आचार्यले अर्थतन्त्रको क्षेत्रमा नेपालले धेरै ठुलो सुधारको माग गरिरहेको बताएका छन्। 
बुधवार काठमाडौँमा आयोजित ‘नेपालको अर्थतन्त्र र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रमा लगानी प्रवर्द्धन हुन नसकेको र बैङ्कमा पनि पैसा थुप्रिएको भन्दै यसमा ठुलो सुधार अवलम्बन गर्न आवश्यक रहेको बताएका हुन्। 
उनले भने, ‘अर्थतन्त्रमा लगानी प्रवर्द्धन हुन सकिरहेको छैन। बैङ्कमा पैसा थुप्रिएको छ। लगानीकर्ताहरूले लगानी गर्न आत्म विश्वास देखाएको अवस्था छैन। निजी क्षेत्र तर्फ गएको कर्जा करिब ७, ८ प्रतिशतको छ। यसले के देखाउँछ भने नेपालले धेरै ठुलो सुधारको माग गरिरहेको छ। थुप्रै क्षेत्रमा सुधारको आवश्यकता छ। सुधार अवलम्बन नगर्ने हो भने हाम्रो अर्थतन्त्र जुन समस्याग्रस्त छ भनी रहेका छौँ यसबाट निस्किएर नेपालको अर्थतन्त्रमा रूपान्तरणको जुन विषय छ त्यो हामीले सोचेको जस्तो नहुन सक्छ।’
यस्तै, उनले नेपालमा अनुत्पादन खर्च कटौती गर्न कठोरताका साथ नियन्त्रण गर्न हिम्मत अर्थमन्त्री र सरकारले देखाउनुपर्ने भन्दै  दबाब आएर जथाभाबी खर्च गर्न नहुने बताए। 
उनले भने, ‘हामीले ऋण थप्दै जानुपर्ने हुन्छ, लिएको ऋण खर्च गर्न सक्ने क्षमता छैन यसले हाम्रो विकासलाई कम गरिरहेको छ। यस कारण अहिलेको आवश्यकता के हो भन्दा नेपालमा अनुत्पादन खर्च कटौती गर्नुपर्छ, कठोरताका साथ यसलाई नियन्त्रण गर्ने हिम्मत अर्थमन्त्री र सरकारले देखाउनुपर्ने हुन्छ। दबाब आयो भन्दैमा जथाभाबी खर्च गर्नु हुँदैन। राष्ट्रिय लक्ष्य निर्धारण गरेर खर्चको व्यवस्थापन गर्नको लागि सरकार लाग्नुपर्छ र पुँजीगत खर्च बढाउने तर्फ पनि अगाडि बढ्नुपर्छ।’