सर्लाहीको बागमती नगरपालिका–१, पानी ट्याङ्की चोकमा शनिवार टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

मोटरसाइकल चालक मलंगवा नगरपालिका–१०, का २१ वर्षीय मोहमद कैफ मिकरानीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङका अनुसार बागमतीबाट हरिवनतर्फ बालुवा लोड गरेर आउँदै गरेको ना.७ ख ६३९१ नम्बरको टिपरले विपरीत दिशाबाट गइरहेको बा। ६६ प ८४६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटना गम्भीर घाइते अवस्थामा रहेका  मिकरानीलाई नमुना अस्पताल हरिवनमा सामान्य उपचारपश्चात् थप उपचारका लागि एलएस न्यूरो अस्पताल वीरगन्ज लैजाँदै गर्दा मृत्यु भएको हरिवन प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार मलंगवा नगरपालिका–१०, कै २४ वर्षीय सुमितकुमार यादव गम्भीर घाइते भएका छन्। सुमितको एल एस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।मोटरसाइकललाई ठक्कर दिने टिपर र टिपर चालकलाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरीले जनाएको छ।