नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले नेपाल पानी नै पानी भएको देश भएतापनि पिउने पानीको हाहाकार भइरहेको बताएका छन्।
नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घद्वारा शनिवार जनकपुरधाममा आयोजित कार्यशाला गोष्ठीमा बोल्दै नेता निधिले शुद्ध पिउने पानीको व्यवस्था गर्न सरकारले वैज्ञानिक नीति अवलम्बन गर्न आवश्यक रहेको धारणा राखेका हुन्।
उनले तराई मधेसका क्षेत्रहरूमा जमिन मुनी पानीको स्तर कम हुँदै गएकोमा चिन्ता व्यक्त गरे। ग्राउण्ड वाटर रिचार्ज गर्ने वैज्ञानिक तरिकाहरू अपनाउन अत्यन्त जरुरी रहेको उनले बताए।
काठमाडौँमा मेलम्चीको पानी आउने भन्दाभन्दै कयौँ पटक प्रयास गरेतापनि अहिलेसम्म सहज रूपमा जनताले पानी पाउन नसकेको उनले गुनासो गरे।
तराई क्षेत्रमा चुरे विनाशका कारण जमिन मुनीको पानीको स्तर घट्दै गएको उनले बताए। अब सरकारले नदी र झरनाको पानीलाई पिउन लायक बनाउने प्रविधि जडान गर्न उनले सुझाव दिए।
त्यस्तै, नेता निधिले नेपाल खानेपानी संस्थानले अहिलेसम्म दिँदै आएको सुविधाको प्रशंसा गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा जनतालाई प्रदान गर्न आग्रह गरेका थिए।