रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणको ६ वर्ष पूरा भएको अवसरमा काठमाडौँमा प्रदर्शन गरिएको छ।
न्यायको माग राख्दै काठमाडौँमा भएको प्रदर्शनपछि भएको सभामा चर्चित सांरगीवादक एवम् गायक हेमन्त कान्छा रसाइलीको प्रस्तुतिले माहोल भावुक बनायो। सांरगीसहित सभामा उपस्थित भएका हेमन्तले ‘रगत सबको रातै हो, सेतो हुने कुन छ ?’ भन्ने बोलको गीत प्रस्तुत गर्दा सहभागीहरूको आँखा रसाएका थिए।
१० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरूसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए। त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटी लखेटी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए।
उक्त घटनामा जाजरकोटका नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो।
उक्त घटनामा जिल्ला अदालत रुकुम पश्चिमले गरेको फैसला जन्मकैदको न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सजाय सदर गरेको थियो। त्यस विरुद्ध दलित अभियान्ताहरु निरन्तर आवाज उठाइरहेका छन्। ‘दलितका लागि दलित’ अभियानको नेतृत्व गरिरहेका खगेन्द्र सुनारले उक्त घटनालाई न्यायालयले पनि अन्याय गरेको बताउने गरेका छन्।
उक्त सामूहिक हत्याकाण्ड उपर उच्च अदालत, सुर्खेतको फैसला (जातीय विभेद हैन) को विरोधमा लामो समयदेखि माइतीघरमा धर्ना र आन्दोलनका कार्यक्रमहरू भइरहेका छन्।