झापा, मोरङ र धनकुटाको विभिन्न स्थानहरूबाट जेठ ९ गते प्रतिबन्धित औषधी, लागू औषध गाँजा र ब्राउन सुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा झापाबाट संयुक्त रूपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का ३३ वर्षीय मोहन चौधरी र मेचीनगर-१५ का ३४ वर्षीय डिपलेस मेचेलाई ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो। 
यसैगरी, लागू औषध नियन्त्रण ब्युरो विराटनगरले भोजपुरको हतुवागडी गाउँपालिका-६ का २० वर्षीय सन्तोष शङ्कर र मोरङको केराबारी गाउँपालिका-५ का२१ वर्षीय सरोज कार्कीको साथबाट १ ग्राम ८ सय ९० मिलिग्राम लागूऔषध ब्राउन सुगर फेलापारी दुवै जनालाई नियन्त्रणमा लिएको हो भने जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोष्ट बलियाको प्रहरी टोलीले घरबाटै लागूऔषधको कारोबार गर्ने सुन्दरहरैँचा नगरपालिका-५ का २३ वर्षीय सचिन घिमिरे र कारोबारमा संलग्न सुनसरीको इटहरी उप-महानगरपालिका-१ का २६ वर्षीय अंकित तामाङ, सुन्दरहरैँचा-६ का २३ वर्षीय विवश लिम्बु, बेलबारी नगरपालिका-११ का ३७ वर्षीय शिशिर राई र बेलबारी-११ की ३१ वर्षीया प्रमिला राई समेतलाई लागू औषध ब्राउन सुगर १ ग्राम र नगद ३९ हजार रुपैयाँ सहित पक्राउ गरेको हो। 
यसका साथै प्रहरी चौकी ६ नम्बर बुधबारे धनकुटाले चेकजाँचको क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ का २८ वर्षीय मौसम लिम्बुलाई धनकुटाको चौबिसे गाउँपालिका-१ ढिस्को स्थितबाट प्रतिबन्धित औषधी TRACDOL-९०० चक्की र DIYSE-20-९०० चक्की सहित पक्राउ गरेको हो।