काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँच जारी रहेको पाइएको छ। स्पिड लेजर गनमार्फत प्रहरीले सवारी जाँचलाई निरन्तरता दिएको हो। 
ट्राफिक प्रहरीको लुकीछिपी चेकजाँचकै क्रममा २०८१ साउन ३१ गते भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ओखलढुङ्गाका उत्तम कोइरालाको ज्यान गएपछि चर्को आलोचना खेपेको प्रहरीले सोही किसिमको चेकजाँच दोहोर्‍याएको हो।
विशेष गरी भक्तपुर क्षेत्र वरपर यस्तो अवैज्ञानिक एव अव्यवहारिक ट्राफिक जाँचका कारण सवारी दुर्घटनाको सङ्ख्या दिनानुदिन बढ्दो छ। यस्तै किसिमको स्पिड लेजर गनमार्फत चेकजाँच शनिवार काठमाडौँको ग्वार्को–वालकुमारी क्षेत्रमा देखिएको थियो।
साँघुरो सडक, अस्तव्यस्त सवारी, अव्यवस्थित ट्राफिक व्यवस्थापन र सवारी चालकबीचको चेतना अभाव यसअघि पनि दुर्घटनाका मुख्य कारण मानिँदै आएका थिए। यसैविचमा लुकिछिपी ट्राफिक चेकजाँचले दुर्घटना निम्ताइरहेको पाइएको छ।
‘ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ तर लुकेर स्पिड जाँच गर्ने सिलसिलामा दुर्घटना निम्ताउन पाइँदैन। अव्यवहारिक र अवैज्ञानिक चेकजाँच गर्नु भएन,’ काठमाडौँ जोरपाटीका दिनेश बाँस्कोटाले भने। 
ओखलढुङ्गाका कोइरालाले ज्यान गुमाएको घटनापछि जनस्तरबाट उठेको चर्को आलोचना र दबाबका कारण उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय भक्तपुरले छुट्टाछुट्टै दुई वटा छानबिन समिति गठन गर्नुपर्‍यो।
अस्थायी रूपमा ट्राफिक प्रहरीले लुकिछिपी चेकजाँच रोकेको थियो। तर, नेपाली व्यवस्थामा नीतिगत सुधार नहुनु, कानुनको कमजोरी र जिम्मेवार निकायको संवेदनहीनताले गर्दा अवस्था फेरि पुरानै शैलीमा फर्किएको छ।
सडकमा जुनसुकै बेला र जुनसुकै ठाउँमा ट्राफिकको चेकजाँच, त्यो पनि गुपचुप तरिकाले हुनु भनेको ट्राफिक सुरक्षाको नाममा दुर्घटना निम्ताउनु रहेको बाँस्कोटाको भनाइ छ।
नेपालमा विश्व स्मार्ट ट्राफिक प्रणाली, आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल निगरानीमा अघि बढिसकेको छ। तर नेपालमा अझै पनि ट्राफिक चेकिङ प्रक्रिया परम्परागत शैलीमै रहेको छ।