नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिएका छन्।
शुक्रवार जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत कास्की पुगेका प्रचण्डले आफू राजावादीहरूसँग मिल्ने योजनामा भएको भन्ने गलत अव्यिक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिएका हुन्।
प्रेस सेन्टर गण्डकी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘तपाईहरुले सुन्नुभयो प्रधानमन्त्री पोखरा नै आएका थिए कि ने थिए, तीनैले प्रतिनिधि सभामा भनेका थिए, प्रतिगामीका विरुद्ध भव्य र सभ्य आयोजना गरेका भनेर बोल्दै थिए। म सुन्दै छु, राजावादीहरूसँग मिल्ने योजना हो प्रचण्ड जी को भनेर कहीँ न कहीँ बोले रे भन्ने सुन्छु। अहिले त धेरै भन्नु छैन, यदि त्यसो भनेको हो भने म प्रधानमन्त्री ज्यूलाई मानसिक अस्पतालमा जचाउन म सल्लाह दिन चाहन्छु।’
उनले माओवादीले प्रतिगामीहरूको विरुद्ध गरेको प्रतिवादले अहिलेको सरकारलाई राहत पुगेको बताए।
‘हामीले राजावादीहरूका विरुद्ध, प्रतिगामीहरूको विरुद्ध गरेको प्रतिवाद सायद अहिलेको भष्ट्रचारीहरुको सरकारलाई केही न केही राहत पुगेको हामीले महसुस गरेका छौ। उनीहरूप्रति बढ्दै गरेको आक्रोशलाई हामीले प्रतिगामीहरूको राजावादीहरूको, निरङकुसतावादीहरुको भण्डाफोर गरिदिँदा सरकारले थोरै भएपनि राहत महसुस गर्यो,’ उनले भने।
उनले माओवादीको जनजागरण अभियानहरू राष्ट्रिय एकतालाई सुदृढ गर्ने अभियान बन्न पुगेको बताए।