उपत्यकामा बढ्दो सहरीकरण र सवारीको चापलाई व्यवस्थापन गर्न ६९ स्थानमा ट्राफिक लाइट जडान गरिए। तर, २८ वटा ट्राफिक लाइट बिग्रिएर थन्किएको महिनौँ भयो । यी लाइट मर्मत गरेर सञ्चालनमा ल्याउन कुनै पनि सरकारी निकाय तयार छैनन्।
काठमाडौँ उपत्यकामा जडान गरिएका ६९ ट्राफिक लाइटमध्ये २८ वटा पूर्ण रूपमा बिग्रिएका छन्। पैदल यात्रुका लागि छुट्टै ‘पेनिकल लाइट’ समेत समावेश गरिएका मध्ये अधिकांश लामो समयदेखि मर्मत नहुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर चुनौती थपिएको छ।
उपत्यका ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक गिरीका अनुसार बिग्रिएका लाइटमध्ये केही आन्दोलनकारीको तोडफोड, केही चट्याङका कारण र कतिपय प्रविधिगत वा विद्युत् प्रणालीको समस्याका कारणले बिग्रिएका हुन्।
‘ट्राफिक प्रहरीले लाइट मर्मत गर्ने न बजेट पाउँछ, न प्राविधिक जनशक्ति नै,’ प्रवक्ता दीपक गिरीले भने, ‘बिग्रिएका लाइट सडक विभाग र सम्बन्धित महानगरपालिकाले मर्मत गर्नुपर्छ।’
गिरीका अनुसार, काठमाडौँ उपत्यकामा हाल काठमाडौँ जिल्लामा ५२ स्थानमा, ललितपुरमा १२ स्थानमा र भक्तपुरमा पाँच स्थानमा ट्राफिक लाइट छन् । तीमध्ये काठमाडौँका २०, ललितपुरका ३, भक्तपुरको १ र पैदल यात्रीका लागि छुट्टिएको काठमाडौँका ४ स्थानमा ट्राफिक लाइट अवरुद्ध छ। प्रयोगमा भएका ६९ वटा ट्राफिक लाइट मध्ये ४१ वटा मात्रै अहिले सञ्चालनमा छन्।
उनले भने, ‘हामीले यी ठाउँमा लाइटहरू बिग्रिएका छन् भनेर जानकारी गराएका छौँ। काठमाडौँमा अब ५२ ठाउँमा ट्राफिक लाइट जडान भएको छ भने ललितपुरमा १२ ठाउँमा र भक्तपुरमा पाँच ठाउँमा ट्राफिक लाइट जडान छन्। तर अन्य थुप्रै बिग्रिएका छन्। जसमा काठमाडौँको २० ठाउँमा ट्राफिक लाइट बिग्रिएका छन्। ललितपुरमा तीन, भक्तपुरमा एक र पैदल यात्रुहरू बाटो काट्ने ठाउँमा काठमाडौँमा चार ठाउँमा बिग्रिएको अवस्था छ।’
ट्राफिक लाइट नहुँदा ट्राफिक व्यवस्थापनमा मानव जनशक्ति प्रयोग गर्नुपर्ने बाध्यता रहेको गिरीले बताए। ‘लाइट हुँदा चालकहरूले नियम पालना गर्न सजिलो हुन्छ,’ गिरीले भने, ‘तर लाइट नभएको अवस्थामा चोकमा प्रहरी उभिएर हातको इशाराले ट्राफिक चलाउनुपर्छ। घाम, पानी, हावाहुरीले गर्दा प्रहरीमाथि थप दबाब पर्छ।’
यसैगरी प्रवक्ता गिरीले ट्राफिक लाइट नहुँदा दुर्घटना धेरै हुने सम्भावना बढेको बताए। उनले कुनै बेला सवारी आवागमनको र मान्छेको चाप बढी भएको बेला ट्राफिक प्रहरीको हातको इशाराले नपुग्ने भन्दै दुर्घटनाको जोखिम झन् बढ्ने गरेको बताए।
उनले भने, ‘ट्राफिक लाइट नहुँदा दुर्घटना धेरै हुने सम्भावना बढी नै हुन्छ। जहाँ लाइटहरू बलिरहेका हुन्छन् त्यहाँ सबैलाई थाहा हुन्छ आफ्नो यात्रा गर्ने समय। लाइट बलिरहेको ठाउँमा जथाभाबी बाटो काट्न सकिँदैन र दुर्घटना कम हुन्छ। तर ट्राफिक लाइट नहुँदा हातको इशाराले प्रहरीले सबैलाई व्यवस्थापन गरिरहेको हुन्छ। तर कुनै बेला सवारी आवागमन र पैदल यात्रुको चाप बढी भएको बेला हातको इशाराले पुग्दैन। त्यो बेला पैदल यात्रीहरू बाटो काट्दै जान्छन् र दुर्घटनाको जोखिम बढ्छ।’
उनले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनको आवश्यकतामा जोड दिँदै भने, ‘२१औँ शताब्दीमा हरेक चोकमा प्रहरी उभ्याउनुको सट्टा प्रविधि प्रयोग गर्नु उत्तम हुन्छ। यसले दुर्घटनाको जोखिम घटाउँछ, नियम उल्लङ्घन प्रमाणित गर्न सिसिटिभीमार्फत सजिलो हुन्छ।’
दैनिक २५ सय चालक कारबाहीमा १
यसैगरी, ट्राफिक महाशाखाका प्रवक्ता गिरीले ट्राफिक लाइट उल्लङ्घन गर्नेहरूमध्ये दैनिक करिब दुई हजारदेखि २५ सृजना चालक कारबाहीमा पर्ने गरेको बताए। उनले मादक पदार्थ सेवन गरेर सवारी चलाउने झन्डै एक सय चालक दैनिक नियन्त्रणमा लिइने गरेको समेत बताए।
उनले भने, ‘ट्राफिक लाइटको उल्लङ्घन गर्ने दुई हजारदेखि २५ सृजना चालकहरू एकै दिन कारबाहीमा परिरहेका हुन्छन्। कतिपय ठाउँमा प्रहरी पुग्न सक्दैन र छुटेको हुनसक्छ। मादक पर्दा सेवन गरेर सवारी चलाउने एक सय जना कारबाहीमा परिरहेका हुन्छन्।’
यसैगरी ट्राफिक प्रहरीले ब्रेथलाइजर र शङ्कास्पद अवस्थामा अस्पताल तथा युरिन परीक्षणमार्फत मापसे तथा लागूपदार्थ सेवनको चेकजाँच गर्दै आएको समेत उनले बताए।
प्रायः निकै ठुलो तामझाम गरेर ट्राफिक लाइट जडान गर्ने, मर्मत सम्भार नगर्ने र जिम्मेवारी नलिने परिपाटी धेरै हुँदा सवारी चालक ट्राफिक प्रहरीकै हातको इसारामा चल्न बाध्य छन्।
ट्राफिक लाइट नभएका स्थानमा सवारीको चाप बढ्ने, नियम उल्लङ्घन हुने, सवारी भद्रगोल हुने जस्ता समस्या देखिएका छन्।