स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जटिल दीर्घ रोगहरूको प्रभावकारी स्याहारका लागि ‘नेपाल प्रशामक सेवा राष्ट्रिय रणनीति २०२५–२०३५’ स्वीकृत गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शुक्रवार आयोजित साप्ताहिक मिडिया ब्रिफिङमा सो जानकारी दिएका हुन्।
स्वीकृत रणनीतिअनुसार प्रशामक सेवामा आम नागरिकको पहुँच सुनिश्चित गर्न देशका सबै तहमा संरचना, जनशक्ति र सेवा प्रवाह विस्तार गरिनेछ।
जनसाधारणमा सचेतना अभिवृद्धि, औषधि तथा उपकरणको उपलब्धता सुनिश्चितता, नियामक निकायहरूसँग सहकार्य लगायतका बुँदाहरू रणनीतिक प्राथमिकतामा पर्छन्।
हाल भारत, सिंगापुर, हङकङ लगायत मुलुकमा कोभिड–१९ को सङ्क्रमण पुनः देखिन थालेपछि नेपालमा पनि सम्भावित जोखिमप्रति मन्त्रालय सजग रहेको छ। गत अक्टोबरदेखि हालसम्म नेपालमा दुई वटा कोभिड केसहरू पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य सेवा प्रणाली सतर्क अवस्थामा राखिएको उल्लेख गर्दै प्रवक्ता डा. बुढाथोकीले प्रयोगशालाहरू, अस्पतालहरू तथा प्रदेशहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिए। सिमानाका नजिक हेल्थ डेस्कहरू सक्रिय बनाइएको छ।
डेंगीको प्रकोप, सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह
मन्त्रालयका अनुसार सन् २०२५ को जनवरीदेखि मे २२ सम्म ७१ जिल्लामा १०८१ डेंगीका केसहरू रिपोर्ट भएका छन्। बागमती र कोशी प्रदेशमा सङ्क्रमण दर उच्च रहेको छ। काठमाडौँमा सबैभन्दा धेरै ११९ केसहरू भेटिएका छन्।
जनसाधारणलाई डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिने उपायहरू अपनाउन मन्त्रालयले आग्रह गरेको छ। ‘खोज र नष्ट गर’ अभियान हरेक शुक्रवार सञ्चालन भइरहेका छन्।
स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सम्मान र सहभागिता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य सङ्गठनको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै जेनेभामा सहभागिता जनाएका छन्। महासभाको अवसरमा नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान दिएको भन्दै डब्लुएचओले नेपाललाई विशेष सम्मान प्रदान गरेको छ।
महासभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले सार्वभौमिक स्वास्थ्य पहुँच, महामारी पूर्व तयारी, आप्रवासी श्रमिकको स्वास्थ्य सुरक्षा, तथा जलवायु परिवर्तनको असर जस्ता विषयमा नेपालका धारणा प्रस्तुत गरेका थिए।
अभिमुखीकरण र कार्यशालाहरू सम्पन्न
स्वास्थ्य मन्त्रालयको आयोजनामा पछिल्लो हप्ता ‘वैकल्पिक हेरचाह क्षेत्र निर्देशिका’, सूचना व्यवस्थापन र समन्वयसम्बन्धी दुई दिने कार्यशाला, तथा कर्णाली प्रदेशमा एम्बुलेन्स निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएका छन्। यी कार्यशालाहरूले विपद् पूर्व तयारी र सेवा सुधारमा योगदान पुर्याउने मन्त्रालयको अपेक्षा रहेको छ।
स्वास्थ्य मन्त्रालयले सबै नागरिकलाई जनस्वास्थ्य उपायहरू पालना गर्न, सतर्क रहन, तथा स्वास्थ्य सेवा सम्बन्धी विश्वसनीय जानकारीका लागि मन्त्रालयका आधिकारिक स्रोतहरूमा भर पर्न आग्रह गरेको छ।