मन्थली नगरपालिका-१२ गेलुका एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण गरेका छन्। 
शुक्रवार अपराह्न ४ः३० बजे तिर ६१ वर्षीय मटक बहादुर बुढाथोकीले २८ वर्षीय बुहारी पवित्रा बुढाथोकीको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेका अनुसार बुढाथोकीले बुहारीको हत्या पछि प्रहरी चौकी खिम्तिमा आत्मा समर्पण गरेका छन्। 
उनका श्रीमानले गत साउनमा आत्महत्या गरेपछि पवित्रा मन्थली नगरपालिका–११ गेलु स्थित माइतमा बस्दै आएकी थिइन्। उनको ९ वर्षको छोरो भने हजुरबा मटकबहादुरसँग बस्दै आएका थिए तर पवित्राले छोरा आफूसँग राख्न पाउनु पर्ने बताउँदै आएकी थिइन्। 
मटक बहादुरले नाति आफूसँग राख्न पाउनु पर्ने माग राखेर जिल्ला अदालत रामेछापमा मुद्दा दायर गरेका थिए। जिल्ला अदालतले बच्चालाई आमासँग नै राख्न दिने गरी फैसला सुनाएको थियो। अदालतको आदेश अनुसार छोरो लिन ससुराको घरमा पुगेकी पवित्रा र ससुरा बिच झगडा भएको थियो। सोही क्रममा मटक बहादुरले बुहारी माथि खुकुरी प्रहार गरेका स्थानीयले बताएका छन्। 
छोराले आत्महत्या गर्नुको कारण बुहारी भएको आरोप मटक बहादुरको रहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।