नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई पदबाट राजीनामा दिएर अध्यागमन विभागमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी छानबिनमा सहयोग गर्न आग्रह गरेका छन्।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. कोइरालाले गृहमन्त्री लेखकले नैतिक जिम्मेवारी वहन गर्दै राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरे। 

उनले विगतमा पनि केही मन्त्रीहरूले विवादित विषयमा राजीनामा दिएर अनुसन्धान प्रक्रियामा सघाएको स्मरण गराउँदै लेखकले पनि त्यस्तै उदाहरण प्रस्तुत गर्नुपर्ने बताए। 

त्यसैगरी, उनले संवैधानिक निकायहरू सचिवहरूको ‘रिटायरमेण्ट क्लब’ जस्तै बन्दै गएको टिप्पणी गर्दै कर्मचारी प्रणाली सुधारका लागि ‘कुलिङ पिरियड’ अनिवार्य गरिनु पर्नेमा जोड दिए।

नेता कोइरालाले राजनीतिक दलहरूको लक्ष्य लोकतन्त्र र जनताको मतलाई सर्वोपरि राख्नु पर्ने भन्दै जनमत संग्रहप्रति सकारात्मक धारणा राखे।