काठमाडौँको तीनकुनेमा गत चैत्र १५ गते राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारले मानव अधिकार आयोगमा निवेदन दिएका छन्।
आइतबार सुरेशकी श्रीमती सुजनी मगिया लगायतले उनको रहस्यमय र शंकास्पद् अवस्थामा निधन भएको भन्दै घट्नाको सत्यतथ्य छानबिनको लागि आयोगमा पुगेर निवेदन दिएका हुन्।
‘आइतबार चैत्र १५ गते राजावादीको आन्दोलनको प्रत्यक्ष प्रसारण गर्ने क्रममा मेरो श्रीमानको रहस्यमय र शंकास्पद् अवस्थामा निधन भएको थियो। उक्त घटना योजनाबद्ध, षड्यन्त्र गर्दै वा कुनै आपराधिक कार्य भएको आशङ्का रहेको छ र राज्यबाट उचित छानबिन नभएको कारणले म मानव अधिकार आयोग समक्ष सत्यतथ्य छानबिनको लागि यो निवेदन पेस गर्दछु। र शीघ्र न्यायको माग गर्दछु।’ निवेदनमा भनिएको छ।
त्यस्तै, निवेदन बुझ्दै आयोगकी उपसचिव मञ्जु खतिवडाले उक्त घट्नालाई अनुसन्धानभन्दा पनि फास्टट्रयाकमा अनुसन्धान हुनुपर्छ भन्ने कुरालाई गम्भीर रूपमा लिएर आयोगले काम गरेको बताइन्। अनुसन्धानको सबै पाटो सक्किएको भन्दै उनले अब एक दुई दिनमा नै अनुसन्धानबाट देखिएको विषय सार्वजनिक गर्ने समेत जानकारी गराइन्।
उनले भनिन्,‘यो घट्नाको अनुसन्धानभन्दा पनि फास्टट्रयाकमा अनुसन्धान हुनुपर्छ। यो गम्भीर विषय हो भनेर आयोगले एकदम गम्भीरतापूर्वक लिएको विषय हो यो। अनुसन्धान अस्ति शुक्रवार फाइनल भयो र रिपोर्ट दर्ता समेत गरिसकेको छौँ एक दुई दिनमा यो कुराहरू हामी मिडियामा लिएर आउने छौँ। हामीले के देख्यौँ के पायौँ भनेर।’
त्यस्तै, उनले यस घट्नामा आयोगले बाहिरबाट दुई जना विज्ञ समेत ल्याएर अनुसन्धान गरेको जानकारी दिइन्।