नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वमा फेरि सरकार बन्ने दाबी गरेका छन्।

बुधबार काठमाडौंमा शुरू भएको एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले विभिन्न घेराबन्दी चिर्दै एमाले फेरि सरकारमा जाने दाबी गरेका हुन्।

उनले यसअघि पनि आफू नेतृत्वको सरकारलाई घेराबन्दी गर्दै हटाइएको उल्लेख गरे। त्यो बेला पनि एमाले मूलढोकाबाटै सिंहदरबार पस्छ भनेको स्मरण गर्दै ओलीले अब फेरि पनि एमालेले सरकार बनाउने बताएका हुन्।

उनले एमाले यो देशको भविष्य र राष्ट्रियताको रक्षा गर्ने रक्षक रहेको समेत दाबी गरे। एमाले यो देशको विकास गर्ने नायक रहेको उनको भनाइ छ।

‘नेकपा एमाले कसैको दया माया र कृपाले बाँचेको पार्टी होइन। संघर्षको मैदानबाट आएर, लडेर, जितेर आएको पार्टी हो। कसैको कृपाले हामी सरकारमा गएका थिएनौं, जनताको कृपाले गएका हौं। अरु कुनै प्रतिक्रियावादीहरू, जनविरोधी शक्तिहरूका कृपा र आशीर्वाद अथवा नेपालको अहित चाहनेहरूको कृपा र आशीर्वादले नेकपा एमाले सरकारमा गको होइन’, ओलीले भने, ‘कान खोलेर सुने हुन्छ एमाले फेरि सरकारमा जान्छ। देश बनाउँछ। विकासमा काम जुन अघि सारेको छ नेकपा एमालेले ती विकासका कामहरूलाई फेरि अगाडि बढाउँछ। समृद्ध नेपाल सुखी नेपालीको देख्न छोड्दैन। झन् प्रस्ट ढंगले देख्छ। झन् दृढताका साथ नेकपा एमाले अगाडि बढ्छ।’

ओलीले कतिपयले फेसबकुमा मजाक बनाए पनि एमाले त्यसबाट नआत्तिने उल्लेख गरे। ‘म फेरि पनि भन्न चाहन्छु- नेकपा एमाले यो देशको भविष्य हो। राष्ट्रियताको रक्षा गर्ने रक्षक हो। यो देशको विकास गर्ने नायक हो’ ओलीले भने।