पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारी नेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी भएकी छन्।

राष्ट्रपति बनेपछि पार्टीको औपचारिक जिम्मेवारीबाट अलग भएकी भण्डारी जिम्मेवारीमा फर्किएपछि यसअघि असोज १३ गते एमाले रूपन्देहीले बुटवल उपमहानगरपालिका–१० सुख्खानगरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भएकी थिइन्।

उक्त कार्यक्रम पार्टीको औपचारिक जिम्मेवारी लिएपछिको उनको पहिलो सार्वजनिक कार्यक्रम थियो।

गत असोज ८ गते एमालेको सचिवालय र केन्द्रीय कमिटीबाट वरिष्ठ नेतामा प्रस्तावित तथा अनुमोदित भएपछि अध्यक्ष केपी शर्मा ओलीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

राष्ट्रिय भेलामा सहभागी भएसँगै भण्डारी पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय देखिएकी छन्।