त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३.७७ ग्राम सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत काठमाडौं आएका ५८ वर्षीय जियानहुवा वाङलाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्दा उक्त पदार्थ फेला परेपछि बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले मलद्वारभित्र प्लास्टिकले बेरेर चारवटा गोलाकार अर्धठोस पहेँलो पदार्थ लुकाएर ल्याएका थिए। भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा जाँच गर्दा सुन बरामद गरिएको हो।
चिनियाँ नागरिक वाङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको प्रहरीले जनाएको छ।












