स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गरेको छ।

एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलले नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुबेदीलाई भेट गरी कार्ययोजना कार्यान्वयनमा जोड दिएको हो। प्रतिनिधिमण्डलले सीईओ सुबेदीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको थियो।

भेटका क्रममा अध्यक्ष ढकालले २१ बुँदे कार्ययोजना समयमै कार्यान्वयन गर्न सके पुँजीबजारमा देखिएका विद्यमान समस्या समाधान हुनुका साथै लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने बताए। कार्ययोजनाको प्रभावकारी कार्यान्वयनले बजारलाई थप पारदर्शी र व्यवस्थित बनाउनसमेत योगदान पुग्ने उनको भनाइ थियो।

उनले पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी तथा अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे। जवाफमा नेप्सेका सीईओ सुबेदीले पुँजीबजारको विकास र सुधारका लागि सम्बन्धित सबै सरोकारवालासँग सहकार्य गर्न नेप्से तयार रहेको बताए।

उनले अर्थ मन्त्रालयको २१ बुँदे सुधार तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। एसोसिएसनले नेपालको पुँजीबजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन नेप्सेसँग रचनात्मक सहकार्य गर्ने जनाएको छ।