गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै निवासको कोठामा मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ वर्षीय केसी मंगलबार बिहान कार्यालय परिसरभित्र रहेको प्रहरी अधिकृत निवासको भुईँतलाको कोठामा अचेत अवस्थामा भेटिएका थिए।
मंसिर १ गते बिहान साढे ९ बजेसम्म पनि उनी नउठेपछि सहकर्मीले कोठाको ढोका ढकढक्याएका थिए। भित्रबाट चुकुल लगाइएको र झ्यालसमेत बन्द रहेको अवस्थामा झ्यालको लक तोडेर हेर्दा उनी ओछ्यानमै अचेत भेटिएका थिए।
तत्काल जिल्ला अस्पताल तम्घास पुर्याइएका उनलाई चिकित्सकले बिहान ११ बजेर ५ मिनेटमा मृत घोषणा गरेका थिए।
घटनापछि मृतकका दाजु विनोदकुमार केसीले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए।
प्रहरीका अनुसार घटनास्थल तथा शव परीक्षणसम्बन्धी प्रारम्भिक अनुसन्धान पूरा गरी शव परिवारको जिम्मा लगाइएको छ। केसीको दाङको घोराही उपमहानगरपालिका–१०, नारायणपुरस्थित दुन्द्राघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












