धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन्। बचतकर्ताको बचत हिनामिना गरेर लामो समयदेखि फरार रहँदै आएका लामिछानेलाई सिआइवीको टोलीले पक्राउ गरेको हो। यसबारे गृहमन्त्री सुदन गुरूङले पनि पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
उनले एक वर्षअघि धरानमा सेभ घोपा अभियान सञ्चालनको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध बोल्दा सुनिएका पूर्वका बचतकर्ताहरूको त्यो पीडाले आफूलाई सधैँ झकझकाइरहेको उल्लेख गरेका छन्। गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि डे वानबाटै पूर्वका नागरिकको पीडालाई न्याय दिन खोजीलाई तीव्र पारिएको उनले बताए।
उनले ५ अर्ब ८८ करोडभन्दा बढीको बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएका र क्रमबद्ध रूपमा अब बाँकी दोषीहरूलाई खोजी तथा कारबाहीको प्रक्रिया तीव्र बनाउने दाबी गरेका छन्।
बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले धरान सहित देशभरका चार हजार ७७२ जना भन्दा बढीको १० अर्ब ७३ करोड भन्दा बढी रुपैयाँ हिनामिना गरेको आरोप छ। आरोपपछि लामिछानेले फरार रहँदै आएका थिए। सहकारीका मुख्य सञ्चालक मानबहादुर विश्वकर्मा, गंगा कालिकोटेलगायतका व्यक्ति भने अझै फरार छन्।












