राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कर्णालीका सांसदहरूले देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेको बताएकी छन्।
आइतबार बसेको प्रतिनिधिसभामा बोल्दै उनले कर्णालीका मुद्दालाई गम्भीर रूपले उठाउने गरेपनि सरकारले फितलो जवाफ दिने गरेको बताइन्।
‘हामी कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले कर्णालीका मुद्दालाई गम्भीर रूपले उठाउने गर्दछौ। तर यो सरकार भने अति नै फितलो जवाफ दिने गर्दछ। हामीले सरकारसँग देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेका हुन्छौ। यदि कर्णालीलाई क्षति भएको निष्कर्ष हो भने क्षतिपूर्ति सहितको राज्यको लगानी खोजिरहेका छौ। तर सरकार भने मजाक गरिराखेको छ,’ उनले भनिन्।
उनले सरकार कर्णाली जनतासँग मजाक गरिरहेको भन्दै विकासका नाममा पूरा नै गुनगान गाइरहेको पनि बताइन्।
६० को दशकमा बनेको सुर्खेत–जुम्ला कोडिडोर, ३० को दशकमा बनेको विमानस्थल र डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले बनाएको कर्णाली स्वास्थ्य प्रतिष्ठानको गुनगान गाएर बस्दा जिम्मेवारी पूरा नहुने उनको जिकिर थियो।