दीपेन्द्र के. खनालको निर्देशनमा बनेको नेपाली फिल्म ‘के घर के डेरा ः घर नम्बर २’ एक साधारण तर गहिरो कथावस्तु बोकेको पारिवारिक चलचित्र हो। जसले ‘घर’ को अवधारणालाई केवल ईट्टाप्रस्त संरचनामा सीमित नराखी, आत्मीयता, सम्झना र सम्बन्धसँग गाँसिएको भावनाको रूपमा प्रस्तुत गर्छ।
जीवनमा डेरा र घरभन्दा महत्त्वपूर्ण हुन्छन् सम्बन्ध। इट्टाको संरचनाभन्दा सम्बन्धको डोरी बलियो, त्यही सम्बन्ध नै हाम्रा लागि घर हुन्। दीपेन्द्र के।खनाल निर्देशित फिल्म ‘के घर के डेरा घर नम्बर २’ ले भन्न खोजेको पनि यही हो।
फिल्म साहित्यिक मात्रै छैन, फिल्म जस्तो हुनुपर्ने हो त्यस्तै छ। ‘के घर के डेरा: घर नं २’ दर्शकको दिमागमा लामो समयसम्म बस्ने फिल्म बनेको छ। धेरै फिल्म हलमा बत्ती बलेर बाहिर निस्किएपछि सकिन्छ। तर यो त्यस्तो छैन। यो घर पुगेपछि पनि दिमागमा रहिरहने चलचित्र बनेको छ। त्यसैले यो मान्छेलाई सोच्न बाध्य बनाइरहने फिल्म बनेको छ।
‘के घर के डेरा: घर नं २’ फिल्ममा रुवाउने मात्रै होइन हँसाउने सिन समेत धेरै छन्। यो फिल्म सहरिया मध्यम वर्गीय परिवारले भोग्नुपर्ने कठिनाइको कथामा आधारित छ। फिल्मले मध्यम वर्गीय जीवनशैली, डेरामा बस्दा आउने असहज परिस्थिति र त्यसभित्र लुकेको आत्मीयता देखाउने प्रयास गरेको छ।
कथा साधारण भए पनि संवाद र पात्रहरूको स्वाभाविक अभिनयले दर्शकलाई तान्छ। निर्देशकले हाँस्यलाई जबरजस्ती हैन, पात्रहरूको व्यवहारबाट नै झल्किने बनाएका छन्।
मुख्य कलाकारहरू केकी अधिकारी र आर्यन सिग्देलको अभिनय अत्यन्तै स्वाभाविक र जीवन्त देखिन्छ। विशेष गरी हास्य क्षणहरूमा अभिनयको टाइमिङ राम्रो छ। केही स्थानमा अभिनय अलिकति बनावटी लागे पनि समग्रमा सबै पात्रहरूले आफ्नो भूमिका न्यायपूर्वक निर्वाह गरेका छन्।
पैसालाई सबथोक मान्ने र पैसालाई सबथोक नमान्नेहरूको कथा पनि हो ‘के घर के डेरा’। ‘के घर के डेरा’ मा सबै पात्रको आ–आफ्नै कथाव्यथा छन्। आ–आफ्नै सङ्घर्ष छन्। सम्बन्धमाथि सबैले आ–आफ्नै खाले उतारचढाव भोगेको देखाइएको छ।
यो घरभित्र ऋणमा चुर्लुम्म डुबेका घरभेटी रौनक र उसकी श्रीमती छन्। यो घरभित्र डेरामा बस्ने टाट पल्टिएका व्यापारी र मैनबत्ती बनाएर बेच्ने उसकी छोरी पूजा छन्। यो घरभित्र मिटरब्याज साहुले ¥याख¥याख्ती पारेर भागिरहेको दिवाकर छन्। यो घरभित्र बस दुर्घटनामा बाआमा र बहिनी गुमाएर जाने ठाउँ कतै नभएका राजाराम छन्।
चलचित्रमा ठुलो मात्रामा पैसा गुमाएर सडकमा आएकाले बिरामी भएका व्यापारी र बैंकको किस्ता तिर्न नसकेर बिजोग अवस्थामा पुगेका घरभेटी रौनक छन्। परिवार गुमाएपछि त्यही बिमाको पैसाले सम्बन्धहरू किन्दै हिँडेका राजाराम छन्। जति जोर चलाए पनि जीवनमा केही तरक्की गर्न नसकेका दिवाकर छन्।
चलचित्रमा खनालले उठाएको अर्को गम्भीर पाटो भनेको घरको वातावरण पनि हो। बा–आमाको घर झगडाको साक्षी बस्न बाध्य बच्चाहरूको मानसिक हालत के होला ? खनालले घरभेटी रौनक र श्रीमतीको झगडाको बीचमा सानी बच्ची (रुविना घिमिरे) लाई उभ्याएर सबै अभिभावकलाई सोधेको प्रश्न हो यो। ती बच्चीले सामना गरिरहेको एन्जाइटी वा अन्य मानसिक तनावलाई पनि देखाएको भए अझै गज्जब हुने थियो।
फिल्ममा आर्यन सिग्देल र केकी अधिकारी एक विवाहित जोडी हुन्, जसले आफ्नी छोरीसहित काठमाडौँको पुरानो, पुर्ख्यौली घरमा जीवन बिताइरहेका छन्। आर्यनका लागि त्यो घर उनका बुबाआमाको सम्झना, पुर्खाको सम्पत्ति र भावनाको केन्द्र हो। त्यसै कारण उनले स्पष्ट रूपमा भन्छन्, ‘यो घर बेच्नुपरे डिभोर्स हुन्छ।’
तर अर्कोतर्फ ऋचा अर्थात् केकी अधिकारी नयाँ सोचकी प्रतिनिधि हुन्। उनी पुरानो घरको शैलीभन्दा सहरको केन्द्रमा, सुविधा सम्पन्न नयाँ घर चाहन्छिन्। यही फरक सोच फिल्मको मूल द्वन्द्व बन्छ।
त्यसपछि फिल्मले देखाउँछ—कसरी एउटै घरभित्रको दुई सोच, दुई सपना, अनि एक छोरीको भविष्यबिचको सङ्घर्षले हास्य, भाव, र रहरको मिसावट ल्याउँछ।
निर्देशकले पुरानो घरका दृश्यहरूलाई कलात्मक ढङ्गले उतारेका छन्। त्यहाँ झ्याल, झ्यालका गहना, भित्ताको पुराना फोटो, अनि गाउँको झल्को दिने काठमाडौँको मुटु यी सबैले दर्शकलाई फिल्मसँग भावनात्मक रूपमा जोड्न सघाउँछन्।
द्वन्द्व गम्भीर भएपनि कथालाई हल्का शैलीमा बुनिएको छ। हास्य क्षणहरू अत्यधिक बनावटी लाग्दैनन्, बरु प्राकृतिक लाग्छन्।
सङ्गीत पक्षले कथा अनुसार नै काम गरेको छ। ‘के घर के डेरा घर नम्बर २’ केवल घरको कथा होइन—यो पुर्खाको सम्झना, परिवारभित्रको समझदारी र बदलिँदो समयसँग तालमेल राख्ने कथा हो।
फिल्मको छायाङ्कन सामान्य भएपनि कथा अनुसार मेल खाने खालको छ। सङ्गीत पक्ष औसत छ, तर कथासँग मेल खाने दृश्यहरूमा सङ्गीतले भावनालाई बल पुर्याएको छ।
फिल्मले नेपाली समाजमा ‘घर’ भन्ने अवधारणामाथि व्यङ्ग्यात्मक ढङ्गमा प्रश्न उठाउँछ—के साँचो घर इट्टा सिमेन्टले बनेको हुन्छ कि मान्छेको आत्मीयताले ? डेरामा बस्नेहरू र घरधनीबीचको सम्बन्ध, साना–साना झगडाभित्रको हास्य र अन्ततः उब्जने आत्मीयता फिल्मको मूल सन्देश हो।
फिल्ममा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, र आर्यन सिग्देलको अभिनय रहेको छ।
नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जनको लगानी रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन्।
यसैगरी, फिल्मको बारेमा कुरा गर्दै अभिनेत्री केकी अधिकारीले यो फिल्मसँग आफ्नो जीवनका धेरै कुराहरूले मेल खाएको बताइन्। उनले चलचित्रमा हामीले सबै जनाको जीवनसँग मेल खानेगरि नै चलचित्रको कथा वस्तुलाई निर्माण गरिएको बताइन्।
उनले भनिन्, ‘फिल्मसँग आफ्नो जीवनका धेरै कुराहरूले मेल खाएको छ। लामो समय नै काठमाडौँको डेरामा बसेको अनुभव र आफ्नै घरमा बसेको दुई वटै अनुभव मैले यो फिल्मबाट पनि लिन पाए। चलचित्रमा हामी सबै जनाको जीवनसँग मेल खानेगरि नै चलचित्रको कथा वस्तुलाई निर्माण गरिएको छ।’
साथै उनले फिल्म जस्तै घटनाहरू रियल लाइफ भए यसको सामना गर्न निकै नै चुनौतीपूर्ण नै हुने बताइन्। उनले रियल लाइफ रिल लाइफ भन्दा गाहे नै हुने गरेको बताइन्।
उनले भनिन्, ‘सबै जनाले आफूलाई कुनै न कुनै पात्रसँग मेल खाएको अनुभव पाउनुहुन्छ। जुन प्रकारले कथा अगाडि बढेको छ सबै पात्रलाई कसरी मिलाएर अगाडि बढ्छ होला, कनेक्सन एउटै डोरी भेट्नलाई एकदमै गा¥हो हुन्छ। राइट फिङ्सिङ् दिन धेरै नै गा¥हो छ। यसलाई निर्देशकले मज्जाले बुन्नु भएको छ। कुनै पनि पात्र विना काम त्यहाँ छैन। महत्त्वपूर्ण कामका लागि मात्रै सिनेमामा देखिन्छ त्यो नै चुनौतीपूर्ण थियो फिल्ममा। साँच्चिकै फिल्म जस्तै घटनाहरू रियल लाइफ भए यसको सामना गर्न निकै नै चुनौतीपूर्ण नै हुन्छ। हामी त्यस्तो अप्ठ्यारोहरूलाई सामना गर्न त्यति सहज मान्दैनौँ। रियल लाइफ रिल लाइफ भन्दा गाहे नै हुन्छ।’
यसैबिचमा दर्शकहरूको समेत प्रतिक्रिया लिएको छ। प्रतिक्रियामा सिनेमा हेर्ने दर्शकले ‘के घर के डेरा : घर नं २’को तारिफ गरेका छन्। आम नेपाली नागरिकले हेर्नै पर्ने सिनेमा भनेका छन्। घरभेटी र डेरावालमात्रै नभएर आम नागरिकको कथा सिनेमामा रहेको उनीहरूको प्रतिक्रिया छ।
फिल्मले एकैसाथ हसाउँछ, भावुक बनाउँछ, र सोच्न बाध्य पार्छ। यसले दर्शकलाई फिल्म सकिएपछि पनि मनमा बाँधिरहन्छ –जुन राम्रो चलचित्रको मुख्य गुण हो।
निष्कर्ष:
‘के घर के डेरा : घर नम्बर २’ केवल मनोरञ्जनको लागि मात्र होइन, आत्मीयता, समझदारी र नेपाली समाजको यथार्थ बुझ्नका लागि पनि हेर्नै पर्ने फिल्म हो।