काठमाडौँको तीनकुनेमा सुरु भएको राजवादीहरूको प्रदर्शन बिथोलिएको छ।
राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरिएपछि आम सभा अझै सुरु हुन नसकेको नेपाल न्यूज बैङ्कका प्रतिनिधि सरोज शाहीले तीनकुने स्थलबाट जानकारी दिए।
उनका अनुसार आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको थियो।
त्यसपछि एक घरमा राजावादीहरूद्वारा आगजनी समेत गरिएको छ। आगजनी सुरु भएको ढिला गरी दमकलले आगो निभाउने प्रयास गरिहरेको छ तर अझै पनि आगो पूर्ण नियन्त्रणमा आई नसकेको शाहीले जानकारी दिए।
तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरूले आगजनी गरेका हुन्।
यसअघि उक्त घरमा राजावादीले ढुङ्गा हानेर सिसा फुटाइदिएका थिए। राजसंस्था पुनस्थापनासहितको माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूको प्रदर्शनमा तनाव भएको छ। राजावादीहरू विभिन्न स्थानबाट जुलुससहित तीनकुने पुगेका छन्। यद्यपि त्यहाँ केही बेर तनाव भएको छ।
चाबहिल, भक्तपुरलगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए। उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो।