राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बा पो सुब्बा आफ्नो जीवन कथामा आधारित ‘अन्जिला’ फिल्म प्रमोसनका लागि नेपाल आइपुगेकी छिन्।
ग्रिस महिला सुपर कपका लागि निस अट्रोमिटौमा आबद्ध रहेर व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला फिल्म प्रमोसनका लागि नेपाल शुक्रवार आइपुगेकी हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले दर्शकहरूको मायाले नै आफूलाई तानेको भन्दै ग्रिसबाट छोटो समय मिलाएर नेपाल आएको बताइन्।
उनले भनिन्,‘ग्रिसबाट छोटो समय मिलाएर आएको छु। दर्शकहरूको मायाले नै गर्दा तीन चार दिन कति हुन्छ बस्ने छु। मैँले समाचारतिर पनि हेरिरहेको थिए। दर्शकहरूको माया भव्य देखेपछि नै आएको हो। सम्पूर्ण टिमलाई धन्यवाद दिन्छु उहाँहरूले गर्दा नै फिल्म राम्रो भइरहेको छ।’
साथै उनले दर्शकहरूले आफ्नो फिल्म हेरेर भावुक हुँदै गर्दा आफूलाई एकातिर दुःख लागे पनि अर्कोतिर फिल्म मन पराइ दिनुभयो भनेर लागेर खुसी पनि उत्तिकै लागेको पनि बताइन्।