मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजमार्गमा रहेका लाइन होटलहरुको अनुगमन गरेका छन्।
राजधानीसँग जोडिएका मुख्य राजमार्गमा आवतजावत गर्ने यात्रुहरूले लाइन होटलहरुमा अखाद्य खाना खुवाउने गरेको गुनासोहरू आएपछि मुख्यमन्त्री सिंहले बिहीबार राती लाइन होटलहरुको अनुगमन गरेका हुन्।
सो क्रममा धनुषाको मिथिला नगरपालिका १० लालगढस्थित दर्जनौँ लाइन होटलहरुमा अनुगमन गर्दा अधिकांश होटल मापदण्ड विपरीत रहेको पाइएको मुख्यमन्त्री सिंहले जानकारी दिए।
उनले खाना मात्र नभई पिउने पानी समेत पिउने लायक नरहेको बताए। आम नागरिक सरह होटलहरुमा पुगेका मुख्यमन्त्री सिंहले ती होटलहरुको भान्सामा व्यापक फोहरको साथै कुनै मापदण्ड पालना नगरेको पाइएको बताए।
मुख्यमन्त्री सिंहले खानाको गुणस्तरमा व्यापक सुधारको आवश्यकता भएको भन्दै ती सम्पूर्ण होटलहरुलाई एक हप्ता भित्र सुधार गर्न निर्देशन दिए। एक हप्ता पछि पुनः अनुगमन गर्ने र फेरि कुनै कमी कमजोरी फेला परेमा सिँधा बन्द गर्ने चेतावनीसमेत दिए। मुख्यमन्त्री सिंहले बसका चालक र बस धनीहरूलाई कमिसनका लागि त्यस्ता होटलहरुमा बस नरोक्न समेत आग्रह गरे।