रौतहटको गरुडा नगरपालिकाको चोकमा रहेको तरकारी बजारमा शुक्रवार बिहान आगलागी भएको छ। आगलागीबाट करिब तिन वटा भन्दा बढी फुसको घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।
स्थानीय कमल जयसवालले सञ्चालन गरेको होटेलमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। प्रहरीका अनुसार आगलागीले घरमा राखिएको दुई वटा ग्यास सिलिण्डर विस्फोट भएको छ।
ग्यास सिलिण्डर विस्फोट भएपछि आगो नियन्त्रणमा बाहिर गएपनि कुनै प्रकारको मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार राय बताए।
उनका अनुसार आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ इलाका प्रहरी कार्यालय गरुडाको टोली घटनास्थल पुगेको थियो। सुरक्षाकर्मी, स्थानीयवासी र गौरबाट आएको वरुण यन्त्र (दमकल) सहयोगमा आगो नियन्त्रणमा आएको उनले जानकारी दिए।
आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको उनले बताए। कति वटा फुसको घर जलेर नष्ट भएको बारे आधिकारिक जानकारी प्राप्त नभएपनि तीन वटा भन्दा बढी नै जलेको डिएसपी रायले बताए। आगलागीबारे भएका क्षतिका विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।