निजी विद्यालयका छाता सङ्गठन प्याबसनको नवनिर्वाचित समितिका पदाधिकारीहरूले शपथ ग्रहण गरेको छ।
बुधवार प्याबसनको कार्यालय तीनकुनेमा आयोजित एक समारोहकाबीच १६ औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण गरेको हो।
शपथ ग्रहणपछि निर्विरोध नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारीले असाध्यै शान्त र राम्रो तरिकाले निर्वाचन सम्पन्न भएको जानकारी दिए।
उनले भने,‘असाध्यै शान्त र राम्रो तरिकाले निर्वाचन भएको थियो। राम्रो साथीहरू छानिएर आउनुभयो। जो छानिनुभएन उहाँहरू पनि असल हुनुहुन्थ्यो।’
त्यस्तै उनले पहिलो प्राथमिकता शिक्षा विधेयक नै रहेको र विधेयकमा विद्यालयहरू कम्पनीमा नै रहनुपर्ने कुरालाई समेट्नुपर्ने मुद्दा रहेको बताए।
उनले भने,‘हाम्रो सम्पत्ति कम्पनीमा नै रहोस्। पुस्तान्तरण होस् भन्ने हामी चाहान्छौं। हामीसँग विभिन्न मुद्दाहरू छन्। किन्ने सामानहरूमा बढी कर तिरेको छौँ। त्यसबारे सरकारमा कुरा राख्नेछौँ। पहिलो प्राथमिकता हाम्रो शिक्षा विधेयक नै हो। हाम्रा विद्यालय कम्पनीमा रहनुपर्छ। भन्ने पहिलो मुद्दा हो।’