यति बेला मुगुका अधिकांश युवाहरु रोजीरोटी एवम् जीवन निर्वाहका लागि नेपालका ठुला सहर र भारततिर लागेका छन्। गाउँमा रोजगारीका अवसरहरु नभएपछि उनीहरू ठुला सहर र भारततर्फ गएका हुन्।
‘गाउँमा उत्पादन गरेको खेतीले परिवारको जीवन निर्वाह गर्न ६ महिना पनि नपुग्ने, बर्सेनि बाली लगाउनलाई सिँचाइ सुविधा नहुने साथै अन्य आय स्रोत नहुँदा उनीहरुले गाउँ छाडेका हुन्। स्थानीय सरकारले पनि रोजगारमुखी कार्यक्रमहरु नल्याउँदा युवा पलायन हुँदा गाउँमा जन्ती–मलामीको अभाव हुने गरेको स्थानीय बताउँछन्।
जिल्लाका सोरु गाउँपालिका अन्तरगत धैन, कालै, भिई, नार्थर्पु, फोतु, लिब्रु, कच्चे, रुम, ख्याल्च, बुम्च, सिरुपटा, खत्याड गाउँपालिकाको अमाले, लुमेरा, सेरी, जाम, जुम्फै, गम्था, कोटडाडा, रासकोटीवाडा, ह्रयाङ्गलु जस्ता गाउँहरु साथै छायानाथ रारा नगरपालिका अन्तरगत रुगा, रोवा, पिना, कार्कीवाडा, ढुम, बाम, मुन्दर कोटिला थार्प, तिर्थलगायत पाँच दर्जन गाउँका युवाहरु पलायन भएका हुन्।
सोरुगाँउपालिका–९ कि असौजी नेपाली भन्छिन्, ‘गाउँ यति बेला युवाविहीन छ। कोही बिरामी परिहाले स्वास्थ्य केन्द्र पुर्याउने, विवाह–व्रतबन्धमा सघाउने र कोही मृत्यु हुँदा मलामी जाने मान्छेको अभाव छ।’
स्थानीय सरकारले पनि रोजगारमूलक काम नल्याउने र राम्रा कार्यक्रमहरुमा आफ्ना नातागोताले अवसर पाउने गरेको उनले गुनासो गरिन्।
मुगुमा एक नगरपालिका र तीन गाउँपालिकाले युवा लक्षित कार्यक्रमहरु ल्याएको दाबी गरेका छन्। यहाँ अधिकास युवाहरु भारतका विभिन्न सहरलगायत नेपालका काठमाडौँ, धरान, बुटवल, चितवन, नेपालगन्ज, भैरहवालगायतका सहरमा युवाहरु मजदुरी र व्यापार गर्न जाने गरेका छन्।
स्थानीय सरकारका आयोजना वा रोजगारमूलक कार्यक्रमहरुमा आफूहरुको पहुँच नपुगेकाले भारतमा गएर मजदुरी गर्न बाध्य भएको सोरु गाउँपालिका–९का जाडनाथ योगीको भनाइ छ।
तर सोरु गाउँपालिकाले युवाहरुलाई गाउँमै रोजगारी दिलाउने उद्देश्यले उपाध्यक्ष कोषमार्फत विभिन्न कार्यक्रमहरु ल्याएको दाबी गरेको छ। युवा पलायन रोक्न भावी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने गाउँपालिका उपाध्यक्ष केशर जङ्ग शाही बताउँछन्।