मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्धारपछि खुल्ला गरिएको छ।
हेटौँडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङ मार्ग सोमबारबाट नागरिकका लागि खुला गरिएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सुरुङ मार्गको उद्घाटन गर्दै सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेका हुन्। प्रदेश सरकारले २०७८ वैशाख १९ मा काठमाडौँको माउन्टेन इन्फ्रा कम्पनी लिमिटेडसँग सुरुङ मार्ग जीर्णोद्धारको सम्झौता गरी काम सुरु गरेको थियो। प्रदेश सरकारले ३ करोड ६५ लाख रुपैयाँ खर्चिएर सुरुङ मार्गको जीर्णोद्धार गरेको हो। सुरुङ मार्ग २२५ मिटर लामो सुरुङको चौडाइ २.५ मिटर छ भने उचाइ ३ मिटर रहेको छ।
२०८० असोज २२ मा सम्पन्न आयोजनाको निर्माण सम्पन्न भएको सुरुङ मार्ग एक वर्ष सञ्चालनमा ल्याइएको हो। सुरुङ मार्ग सञ्चालनको ढाँचा र कार्यविधि तयार नभएकाले एक वर्षदेखि बन्द गरेर राखिएको थियो। हेटौँडा उपमहानगरपालिकाले तयार गरेको कार्यविधि अनुसार सुरुङ मार्ग अवलोकन गर्न नेपालीका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ भने विदेशीलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको छ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो। नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’ बीच भागमा भासिएको थियो। जीर्णोद्धारपछि सुरुङ मार्ग उद्घाटन समारोहमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सरकारका बहालवाला मन्त्री, पूर्वमन्त्री, प्रदेश सभा सदस्यहरुको पनि उपस्थिति रहेको थियो।