नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन्।
रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा नेतृ सङ्ग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पूरा गर्न सफल नभएको जिकिर गरिन्। तत्काल संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने कुरामा नेतृ सङ्ग्रौलाको जोड थियो।
काँग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभूति नगरेको, सरकार सञ्चालनमा भएकाहरू अलमलिएको बताइन। काँग्रेसले सञ्चालन गरेको अभियान सङ्गठनलाई मजबुत बनाउन, जनतासँग नेताहरू पुगी समस्या पहिलाउन र समाधान गर्नका लागि देशभर प्रतिनिधि खटिई क्रियाशील वितरण पनि अगाडि बढाएको बताइन्।
क्रियाशील वितरणको काम सुरु भएसँगै महाधिवेशनको तयारी सुरु भएको बताउँदै समयमै काँग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको बताइन्। वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र होइन, अस्थिरता अन्त्यसँगै संविधान संशोधनकै लागि काँग्रेस–एमाले एक ठाउँमा सत्ता सहकार्य गर्न पुगेको सङ्ग्रौलाले बताइन्।
पूर्व सांसद समेत रहेकी नेतृ सङ्ग्रौलाले काँग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागि उत्तराधिकारी कसैको कोही नहुने बताउँदै भिजन र मिसन भएको व्यक्तिले पार्टीको नेतृत्व गर्ने बताइन। 
यो सरकार २०८४ सालसम्म नै एमालेसँगको सहकार्यमा सञ्चालन हुने भएकाले सहमतिअनुसार नै चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले गर्ने बताउँदै माओवादीले जनतालाई पटक–पटक धोका दिएकाले माओवादीसँग सहकार्य नहुने स्पष्ट पारिन्।
संविधान संशोधनमा महिलाको अधिकार प्राप्तिका लागि प्रत्यक्षतर्फ ४० प्रतिशत उम्मेदवार बन्न पाउनेगरी र महिलाको अधिकारका लागि लडिरहने बताएकी सङ्ग्रौलाले काँग्रेसको पदाधिकारीमा पनि ३३ प्रतिशत महिलाले नेतृत्व गर्न पाउनुपर्नेमा जोड दिइन्।
कार्यक्रम रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष मिना ढकाललाई सम्मान गरिएको थियो।