नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता जनकपुर बोल्ट्स टिम बिहीबार जनकपुरधाम आउने भएको छ।
जनकपुर बोल्ट्स टिम बिहीबार साँझ जनकपुरधाम आउने र शुक्रवार रजौलस्थित रामजानकी स्टेडियमबाट खेलाडीहरूको सम्मानमा नगर परिक्रमा गरिने जिल्ला क्रिकेट सङ्घ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु) ले जानकारी दिए। 
उनले सोही साँझ जानकी मन्दिरमा ट्रफीसमेत प्रदर्शन गरिने बताए। खेलाडीहरूको सम्मानमा बाजागाजासहितको टोली जनकपुरधाम विमानस्थल पुग्ने छ। जिल्ला क्रिकेट सङ्घले टोलीलाई भव्य स्वागतसहित नगर परिक्रमा गराउने जनाएको छ।
टिमलाई स्वागत तथा सम्मान गर्न जानकी मन्दिर, राजदेवी मन्दिर, युवा क्लबहरु, प्याबसन, एनप्याबसन धनुषा, उद्योग वाणिज्य सङ्घ धनुषालगायत विभिन्न सङ्घ संस्थाले तयारी गरेको छ।
नेपालमा पहिलो पटक आयोजना गरिएको एनपीएल प्रतियोगिताको विजेता जनकपुर बोल्ट्स टिम बनेको छ। जनकपुर बोल्ट्सले शनिवार काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा भएको एनपीएलको फाइनल खेलमा सुदूरपश्चिम टिमलाई ५ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको थियो।