भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित ऐतिहासिक भाज्यापुखु (पोखरी) को संरक्षण र सीमाका विषयलाई लिएर भक्तपुर बहुमुखी क्याम्पस र भक्तपुर नगरपालिकाबिच विवाद थप पेचिलो बन्दै गएको छ।
क्याम्पससँगै रहेको भाजु पोखरीको दक्षिणतर्फ २० फिटको सडक खोल्न नगरपालिका र क्याम्पस प्रशासनबीच संवाद जारी रहेकै बेला क्याम्पसको संरचनामा डोजर चलाएर भत्काएपछि स्थिति असहज बन्दै गएको हो।
पटक पटक लिखित जानकारी गराउँदा पनि क्याम्पस प्रशासनले अटेर गरेपछि नगरपालिकाले डोजर चलाएको दाबी गरेको छ। तर क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयको जग्गामा नगरपालिकाले जबरजस्ती गरेको आरोप लगाएको छ। गेट, खानेपानी ट्याङ्कीलगायतका संरचना भत्काइएपछि क्याम्पस प्रशासनले सुरक्षाको माग गरेको छ भने संरचना पुनः निर्माणको माग अघि सारेको छ।
त्रिभुवन विश्वविद्यालयले गठन गरेको जग्गा छानबिन आयोगले हालै मात्र स्थलगत अवलोकन गरेको र त्यसको प्रतिवेदन बुझाएपछि आएको निर्णयअनुसार दुवैको सहमतिमा काम गर्ने भनेर नगरपालिकालाई जानकारी गराइएको भएपनि जबरजस्ती गरेको आरोप छ।
तर नगरपालिकाले दक्षिणतर्फको डिल खोल्नलाई क्याम्पसले आनाकानी गरेको बताएको छ। उक्त विषय हाल व्यक्तिगत आरोप प्रत्यारोप र लाल्छनामा केन्द्रित भएको छ। क्याम्पस र नगरपालिकाबीच उक्त डिल र जग्गाको सीमाविवाद सम्बन्धमा आइतबार दुई पक्षबीच छलफल समेत भएको थियो।
नगर प्रमुख सुनिल प्रजापति र त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालबीच भाज्यापुखुको दक्षिणपट्टिको डिल खोल्ने र क्याम्पसको सुरक्षा पर्खाल निर्माण गर्ने सम्बन्धमा छलफल भएको छ।
डिल खोल्ने र क्याम्पसको सुरक्षा पर्खाल लगाउने सम्बन्धमा भाज्यापुखु र क्याम्पस दुवैको सौन्दर्यमा वृद्धि हुनेगरी छलफल चलिरहेपनि नगरपालिकाले डोजर चलाएको विषयलाई लिएर क्याम्पस प्रशासन रुष्ट छ। आठ सय वर्ष पुरानो मानिएको उक्त पोखरी २०२१ सालमा नापी नक्सा हुँदा कित्ता नम्बर २४१ र पोखरीको चारैतर्फको डिल कित्ता नम्बर २४२ कायम गरी २०३३ सालमा चारैतर्फको डिल क्याम्पसको नाममा दर्ता भएको तथ्य भेटाइन्छ। 
क्याम्पस प्रमुख कविता लुइँटेलका अनुसार त्रिविको नाममा रहेको जग्गा संरक्षण गर्ने जिम्मेवारी आफूहरुको भएकाले भत्काउने होइन संरक्षण गर्नुपर्छ। ‘नगरपालिकाको पत्र हामीले पाएका हौँ। त्रिविलाई जानकारी गराएर छलफलको तयारीमा थियौँ। डोजर चलाउने विषयमा हामीसँग जानकारी थिएन तर जबरजस्ती गरियो। जग्गा संरक्षण गर्ने दायित्व क्याम्पसको हो। त्यो जिम्मेवारी हामी पूरा गर्छौँ,’उनले भनिन्,‘संवाद जारी रहेकै बेला संरचना भत्काउँदा स्थिति बदलिएको छ। अब त्रिवि र नगरपालिकाबिच संवाद एवम् सहमति नभएसम्म विवाद साम्य हुँदैन।’
सोही क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति पुकार पराजुली क्याम्पस परिषद्को संरचना डोजर लगाएर भत्काउने विषयमा नगरपालिकाले पत्राचार गरेको आफूलाई जानकारी नभएको बताए।
‘क्याम्पस प्रशासनलाई बुझ्दा चैत्र ६ गते नगरपालिकाले पत्र पठाएको तर डोजर चलाउने प्रसङ्ग उल्लेख गरेको छैन। त्रिविले जग्गा छानबिन आयोग गठन गरेर प्रतिवेदन तयारी भइरहेको अवस्थामा नगरपालिकाले दादागिरी देखायो,’ उनले भने, ‘नगरपालिकाले पठाएको पत्र र भत्काइएको संरचनाकाबिच कुनै तालमेल देखिँदैन। नगरपालिका क्याम्पसको पठनपाठनप्रति जिम्मेवार पटक्कै देखिँदैन। क्याम्पसमा भर्ना खोलेको समयमा शैक्षिक गतिविधि बिथोल्ने प्रयास नगरपालिकाले गरेको छ। डोजर आतङ्क मच्चाएर समस्या समाधान हुनेवाला छैन। विद्यार्थीको शैक्षिक मानसिकता बिगारेर नगरपालिका र त्रिविले गैरजिम्मेवारपूर्ण भूमिका निर्वाह गरिरहेको छ। यस्तो कदमको हाम्रो गम्भीर असहमति छ। चाँडो समाधान निकाल्नुपर्छ।’
तर नगर प्रमुख प्रजापति पोखरी र क्याम्पस दुवैलाई राम्रो एवम् सुन्दर बनाउन खोज्दा त्रिविले कुनै चासो नदेखाएको बताए। क्याम्पस र पोखरी दुवै सरकारी सम्पत्ति भएकाले संरक्षण गर्ने दायित्व नगरको भएको पनि उनको बुझाइ छ।
‘हामीले पटक पटक क्याम्पसलाई पत्राचार गरेका हौँ। त्रिवि, मन्त्रालय सबैतिर पुगेर समस्या समाधानका लागि प्रयास गर्‍यौँ। मापदण्ड अनुसार मात्र संरचना बनाउनुहोला र नभए भत्काउँछौँ भनेकै थियौँ। सबैलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि डोजर चलाएका हौँ,’ उनले भने,‘त्रिविका पदाधिकारीहरुसँग कुरा भइसकेको छ अब चाँडै समाधानको बाटो खोज्ने छौँ। क्याम्पस र पोखरीलाई सुन्दर बनाउने छौँ। द्वन्द्व निम्ताएर हामी कसैलाई फाइदा नहुने भएकाले समझदारीको बाटोमा अघि बढ्ने छौँ। सहमति नभए नगरपालिकाको नियम अनुसार अघि बढ्छौँ।’
नगरपालिका र क्याम्पस प्रशासनको आ–आफ्नै तर्कका कारण क्याम्पस परिसरका संरचना भत्काउँदा अवस्था असहज भएको छ। संरचना भत्काएर लथालिङ्ग छाड्दा क्याम्पस परिसर कुरुप देखिएको छ। विद्यार्थीहरुले आफूहरुको शैक्षिक वातावरण खलबलिएको, हिँडडुल गर्न कठिन भएको र जुनसुकै बेला धरपकड हुने सम्भावनाका कारण असुरक्षित महसुस गरेका छन्।
स्ववियू सभापति पराजुली शैक्षिक गतिविधि चलिरहेका बेला डोजर चलाउने, धरपकड गर्ने र हातपात गर्ने जस्ता गतिविधि जारी राखे विद्यार्थीहरु आन्दोलनमा उत्रिने बताए। ‘हामी जग्गा र संरचनाको विवाद भन्दा पनि विद्यार्थीको पठनपाठन राम्रो हुनुपर्छ भन्ने हो। छानबिन आयोगको प्रतिवेदन अनुसार तत्काल समस्या समाधान होस भन्ने हाम्रो माग हो। धरपकड गरेर विद्यार्थीहरुको मानसिकता बिगार्न पाइँदैन,’ उनले भने।