भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने कार्यमा सरकार लागिपरेको बताएका छन्।
मंगलबार काठमाडौँमा प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले युवाहरुलाई राष्ट्र निर्माणमा चासो देखाउन सक्ने बनाउनुपर्ने भन्दै सरकार त्यो काममा लागेको बताए।
उनले भने, ‘युवाहरुलाई राष्ट्र निर्माणमा चासो देखाउन सक्ने बनाउनु पर्छ, उनीहरुलाई अहिले परिणाम र रोजगारी चाहिएको छ। अहिले नभए पनि भविष्यमा हुन्छ भन्ने विश्वास दिलाउन सक्नु पर्छ तर हामीले त्यो काम गर्न सकि रहेको अवस्था छैन। त्यसकारण रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने कार्यमा लाग्नु पर्ने आवश्यकता छ। सरकार यही काममा लागेको जानकारी पनि गराउन चाहन्छु।’
यसको साथै, उनले नयाँ पुस्ताहरुले हाम्रो विकास योजना र अध्ययनमा उठेका प्रश्नहरुको जवाफ खोजेर अगाडि बढ्न आवश्यक रहेको पनि बताए।
उनले भने, ‘यस पटकको बाढी र पहिरोको क्षतिलाई हेर्दा हामीले केही विषयमा छलफल गर्नुपर्ने र निष्कर्ष निकाल्नु पर्ने भएको छ। के हाम्रो भौगर्भिक अध्ययन र वातावरणीय अध्ययन सम्भावित जोखिम वा भविष्यलाई ध्यान दिएर गरेका छौ, हाम्रा भौतिक संरचना बनाउनु पहिलाका डिजाइन्हरु ठिक छन्, भूगोल र माटोको प्रकृतिसँग हामी परिचित थियौँ, हाम्रो सिङ्गो विकासको मोडेलको बारेमा हामीले पुन विचार गर्नुपर्ने भएको छ र के विपद् जोखिमको सामना गर्न हाम्रो पूर्व तयारीहरु सक्षम थिए वा छन्। यस्तै प्रश्नहरु हाम्रो अगाडि छन्। अबको पुस्ता र भविष्यहरुले यो प्रश्नको जवाफ खोजेर अगाडि बढेन भने, हाम्रा विकासहरु बनाउँदै जाने र यस्तै प्राकृतिक प्रकोपले यसलाई नष्ट गर्दै जाने प्रक्रिया जारी हुन्छ।’
देशको भूगर्भलाई गहन अध्ययन गरेर कसरी विकास गर्ने भन्ने सम्बन्धमा आवश्यक छलफल गर्न जरुरी रहेको उनको भनाइ छ।