ऊर्जा जल श्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले वैकल्पिक ऊर्जा तथा प्रवर्द्धन सम्बन्धी ऐन कानुनलाई समय सापेक्षित बनाउन आवश्यक रहेको बताएका छन्। 
मङ्गलवार काठमाडौँका आयोजित वैकल्पिक ऊर्जा तथा प्रवर्द्धन केन्द्रको २८औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले मुलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक भइसकेको कारण सबै कुरा समयसापेक्षित हुन जरुरी रहेको बताए।
उनले वैकल्पिक उर्जासम्बन्धि ऐन चाँडै पास गर्ने प्रतिबद्धता व्यक्त गरे। 
उनले भने,‘अहिले जे समय परिवर्तन भएको छ। पहिलेको समयबाट वा परिस्थितिबाट माथि उठिसकेका छौँ। र समय सापेक्षित नीति नियम ऐन कानुनको व्यवस्था गर्नुपर्ने छ। यसमा मन्त्रालय निरन्तर लागेको कुरा यहाँहरूलाई जानकारी नै छ। अब चाँडै नै यो ऐन पास हुने कुरा जानकारी गराउन चाहन्छु। मुलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक छ। त्यसैले हामी समयसापेक्षित हुन जरुरी छ।’ 
उनले अहिले सबै निकायहरुलाई सरकारभन्दा पर बसेर काम गर्ने निकायहरु हौँ भन्ने अनुभूति भएको भन्दै सबै निकायहरु सरकार कै अंगहरु भएको बताए।
 मित्रराष्ट्रहरुले दिने ऋण र अनुदान सबै नेपालीहरुलाई सम्झेर नै दिने भन्दै सबै नेपालीहरुको दायित्व सरकारले लिन सक्नुपर्ने उनको भनाई छ। 
उनले भने, ‘अहिले सबै निकायहरु सरकारभन्दा पर बसेर काम गर्ने निकायहरु हौँ कि अनुभूति भएको रहेछ। त्यस्तो होइन हामीलाई दातृराष्ट्रहरुले,मित्रराष्ट्रहरुले दिने ऋण र अनुदान सबै नेपालीहरुलाई सम्झेर दिएको हो। सबै नेपालीहरुको दायित्व सरकारले लिन सक्नुपर्छ र लिन्छ पनि।सबै निकायहरु सरकारका अंगहरु हुन्।’
उनले वैकल्पिक ऊर्जालाई देशको आम्दानीको मुख्य श्रोतमा सरकारले लिएको पनि बताए। मन्त्री खड्काले आगामी वर्षसम्ममा सबै घरमा विद्युत् वितरण गरिसक्ने सरकारको लक्ष्यलाई प्राधिकरणले मात्र गर्न नसक्ने अनुभूति रहेको भन्दै यसमा वैकल्पिक ऊर्जाको महत्त्वपूर्ण भूमिका रहने बताए।