डोटीमा शिक्षिका मृत भेटिएको घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का मृत भेटिएको घटनामा शिक्षा तथा समन्वय एकाइ डोटीमा विद्यालय निरीक्षक (विनि) पदमा कार्यरत २८ वर्षीय गणेश रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

डोटी प्रहरीका अनुसार मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा शिखर नगरपालिका-११ घर भएका रावललाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार मृतक खड्का बाजुराको बुढीगंगा नगरपालिका-५ स्थित भानुदय नमुना माध्यमिक विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत थिइन्। सोमबार दिउँसो घरबाट सम्पर्कविहीन भएकी खड्का करिब ७०० मिटरको दूरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएर खड्कासँग रावलको प्रेम सम्बन्ध रहेको र उनैले दिएको मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य पारेको देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

मृत फेला परेकी शिक्षिका जानकी खड्काले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट बरामद भएको छ। मृतकको सुत्ने कोठामा मोबाइलको कभर पछाडि फेला परेको सुसाइड नोटकै आधारमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सुसाइड नोटमा खड्काले गणेश रावल स्वयंले सामाजिक सञ्जालबाट आफूलाई फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाए पनि देख भेट नभएको उल्लेख गरिएको छ।

अहिलेसम्म ड्याडी मम्मीको इज्जत र खुसी सम्झेर बसेकी थिए। आज मलाई जिन्दगीले अनौठो मोडमा ल्याएर उभ्याइदियो। सो सरी भाइ मेरो कारण तिमीलाई र ड्याडीलाई यत्रो महिना तनाव भयो,’ सुसाइड नोटमा लेखिएको छ, ‘के गरू भाइ, गणेश रावलले आफैँ फ्रेन्ड रिक्वेस्ट पठाएको हो। न मैले उसलाई भेटेको छु न देखेको छु। सबै उसका नाटक हुन् मलाई फसाउने।’

बुवा, आमा र भाइलाई सम्बोधन गर्दै लेखिएको सुसाइड नोटमा उनले रावलसँग फोनमा कुराकानी गर्नु गल्ती भएको, आमाबुवाको इज्जत गुमाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन नसकिने उल्लेख गरेकी छिन्।

‘मेरो आयु यत्ति नै रहेछ, के गरूँ भाइ ? बाबाआमाको इज्जत गुमाएर, तिमीहरूलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ,’ सुसाइड नोटमा लेखिएको छ।