रुपन्देहीको कन्चन गाउँपालिका ५ फायर लाइनस्थित भित्री सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।  
फायर लाइनबाट रुद्रपुर आउँदै गरेको बागमती प्रदेश ०१००६ ख ७७८२ नं. को ईभी गाडी आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको बाँझको रुखमा ठोक्किँदा दुर्घटना भएको हो। 
दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी गणेश सापकोटाका अनुसार मृत्यु हुनेमा सैनामैना ८ बासगढीका खुम बहादुर आचार्य, सोही ठाउँकै ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बहादुर विक रहेका छन्। 
यस्तै, दुर्घटनामा परी रुपन्देही सैनामैना ८ बासगढीका ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समीर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र रुपन्देही कन्चन गाउँपालिका ५ पिपल छापाका ३९ वर्षीय अशोक थापा घाइते भएको सूचना अधिकारी सापकोटाले बताए।
घाइते सबैको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ।