मनाङमा परेको भारी हिमपातका कारण फसेका १५ सय नागरिकको नेपाली सेनाले उद्धार गरेको छ। हिमपातका कारण तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ र हुम्दे क्षेत्रका बासिन्दा तथा पर्यटकहरू कठिनाइमा परेपछि सेनाले उद्धार कार्य थालेको थियो।

नेपाली सेनाको मनाङस्थित नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीले प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा ती सबैलाई सुरक्षित स्थानमा पुर्‍याएको हो। सेनाका अनुसार उद्धार गरिएका मध्ये करिब दुई सय जना विदेशी पर्यटक रहेका छन्।

गत केही दिनयता लगातार परेको हिमपातका कारण मनाङका विभिन्न उच्च पहाडी क्षेत्रमा जनजीवन प्रभावित भएको छ। हिमपातले आवतजावत अवरुद्ध भएपछि पर्यटक र स्थानीय दुवै जोखिममा परेका थिए। नेपाली सेनाले आपतकालीन उद्धारका साथै आवश्यक सहजीकरण कार्य पनि जारी राखेको जनाएको छ।