पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन् । 
तत्कालीन एकता केन्द्रका केन्द्रीय सदस्य राजवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनयुद्धको आधार तयार पार्न मधेसमा राजवृक्ष यादवको गुणात्मक योगदान रहेको बताए । 
उनले भने, ‘राजवृक्ष यादव मधेसी जनताको आन्दोलनको बिचबाट जन्मिएको एक जना लोकप्रिय नेता हुनुहुन्थ्यो। उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि अति लोकप्रिय हुनुहुन्थ्यो । राजवृक्ष मृदुभाषी, बहुआयमिक प्रतिभाका धनी हुनुहुन्थ्यो । मधेसमा जनयुद्धको आधार तयार पार्न उहाँले असाध्यै महत्त्वपूर्ण भूमिका खेल्नुभयो ।’
Photo (3) 26
अध्यक्ष दाहालले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले सङ्घर्षको मोर्चालाई सुदृढ गर्ने समेत बताए । 
उनले अघि भने, ‘जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशङ्का जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन। मैले सदन र सडकबाट सङ्घर्षको विकल्प देखेको छैन । हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ । यो अपवित्र छ, यसको उद्देश्य गलत छ । पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ ।’