कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो पटक ट्राफिक लाइट जडान भएको छ। विराटनगरको बरगाछी चोकमा ट्राफिक लाइट जडान भएको हो।

सडकको ट्राफिक व्यवस्थापनका लागि प्रदेश सरकारको बजेटमा जडान भएको ट्राफिक लाइटको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले उद्घाटन गरेका हुन्।ट्राफिक लाइटको उद्घाटन गर्दै मन्त्रीले विराटनगरमा हुने सवारी दुर्घटना न्यूनिकरण हुने बताए।

विराटनगरको बरगाछी अत्याधिक दुर्घटना हुने क्षेत्रमा पर्दछ। चोकमा जडान भएको ट्राफिक लाइटको व्यवस्थापन ट्राफिक प्रहरी कार्यालय मोरङले गर्नेछ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक सुमन न्यौपानेले ट्राफिक नियमको पालनाका लागि केही समय लाग्ने बताए।