धादिङको गजुरी गाउँपालिका-५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन्।
धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुल नजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
घाइते सबै खतरामुक्त रहेका छन्। रूख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुईतर्फी अवरूद्ध बनेको थियो।
अहिले दुई तर्फी रुपमा यातायात सेवा सञ्चालन भएको प्रहरीले जनाएको छ।