पोखरा उडानका क्रममा सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ।
एयरलाइन्सका १९ टेक्निकल स्टाफसहितलाई लिएर पोखराको लागि उडान भर्ने क्रममा बुधवार सौर्यको जहाज दुर्घटनामा परेको हो।
विमानस्थलमा दुर्घटना हुँदा प्रत्यक्षदर्शी राज चौंलागाईंले सुरूमा धुवा आएर बङ्कर्मा ठोक्किएको बताए। उनले ठोकिएपछि जहाज दुई टुक्रा भएर खाल्डोमा खसेको जिकिर गरे। 
उनले भने, ‘जहाज पहिले नै हिट भइसकेको थियो होला त्यसपछि भित्तामा हिट भइसकेपछि जहाजमा आगलागी भयो, घिस्रिने क्रममा जहाजको ककपिट एयर डाइनेस्टीको कन्टेनरमा ठोकियो। कन्टेनरलाई घिसारेर तल पुयायो। जहाजको एक भाग यसैमा अड्कियो। अर्को भाग उछिट्टिएर अझै पर पुग्यो। दुवै ठाउँमा ठुलो आगलागी भयो, केही बाच्ने अवस्था थिएन तर पाइलट भाग्यले बाँचे होलान्। ’ 
साथै उनले यस्ता घटनाहरूमा सरकारले ध्यान दिनुपर्ने बताए । समयमै उद्धार भए पनि सरकार यस्ता घटनामा जहिले कमजोर रहेको दाबी गरे । 
यस्तै यो घटनाका प्रत्यक्षदर्शी सुनिल केसीले सुरक्षाकर्मी सबैले उद्धारमा राम्रोसँग आफ्नो कर्तव्य निभाएको बताएका छन् । उनले यो छोटो समयमा सबैको उद्धार गर्न सफल सुरक्षा टोलीलाई धन्यवादसमेत व्यक्त गरेका हुन् ।